काठमाडौँ- ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको हो।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका– ८ घर भई हाल भक्तपुरको दार्जिलिङ हाइट बस्ने ३० वर्षीय प्रकाश पाख्रिन रहेका छन् ।
प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरी टोलीले पाख्रिनले चलाएको बा।प्र।०२-०६४ प ४९८५ नम्बरको स्कुटरलाई रोकेर खानतलासी गर्दा लुकाईछिपाई ल्याएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो । उनको साथबाट डाइजोपाम (१०३ एम्पुल), नोर्फिन (१०३ एम्पुल), फेनेरागन (१०३ एम्पुल ), ट्रामाडोल (८५० ट्याब्लेट), नाइट्राभेट (२१० ट्याब्लेट) र नेपाली नगद (२८,२५० रुपैयाँ) बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक शुभेश अधिकारीका अनुसार पक्राउ परेका पाख्रिन र उनले प्रयोग गरेको स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।




