यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई

हिमाल प्रेस ७ वैशाख २०८३ ११:५४ | Monday, April 20, 2026
24
SHARES
यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई

काठमाडौँ- वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ। प्रज्ञाप्रतिष्ठानका कुलपति दुबसु क्षेत्रीका अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उत्कृष्ट आधुनिक कथा, नाटक र निबन्धको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाएको मूल्यांकन गर्दै चन्दलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिए। चन्दले नेपाली वाङ्मयलाई वैभवशाली तथा गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान तथा पहिचान उच्च र अक्षुण्ण राख्न योगदान दिएको उनको भनाइ छ।

विसं १९९७ मा बैतडीमा जन्मिएका पूर्वप्रधानमन्त्रीसमेत रहेका चन्दका विसर्जन, हिउँको तन्ना, बाह्रौँ खेलाडी, अपराजिता र नेताका साथीलगायत पुस्तक प्रकाशित छन्।

प्रतिष्ठानको बैठकले यस वर्षको मानश्री पुरस्कार स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल तथा विश्वका विभिन्न मुलुकमा योग, ध्यान र आध्यात्मिक दर्शन तथा साहित्यको विकास र विस्तारद्वारा नेपाली वाङ्मय तथा सभ्यताको उन्नयनमा महत्वपूर्ण योगदान दिएको प्रतिष्ठानले मूल्यांकन गरेको छ । विश्व समुदायमा नेपाली अध्यात्म, दर्शन र सभ्यताको विशिष्ट स्थान, पहिचान तथा सम्मान अभिवृद्धिमा योगदान दिएकाले स्वामी आनन्द अरुणलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको क्षेत्रीले जानकारी दिए ।

विसं २००१ मा जनकपुरमा जन्मिएका आनन्द अरुणका अन्तरयात्रा, सन्तगाथा, सन्तदर्शन र अचम्म जो देखेँ मैले लगायतका पुस्तक प्रकाशित छन् । आनन्द अरुणका पुस्तक अङ्ग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुदित छन् । दुवै पुरस्कारको राशि जनही ७५ हजारसहित सम्मानपत्र रहेको छ । रासस

 

प्रकाशित: ७ वैशाख २०८३ ११:५४ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast