पुस्तेनी सुकुम्बासी टेकनाथको पीडा, अब कहाँ जाने?

किरण पौडेल १७ वैशाख २०८३ ६:३३ | Thursday, April 30, 2026
14
SHARES
पुस्तेनी सुकुम्बासी टेकनाथको पीडा, अब कहाँ जाने? टेकनाथ सापकोटा दम्पती।

काठमाडौँ– साँझ ६ बजे। दशरथ रंगशालामा नाम टिपाउन बसेका कर्मचारी घर लाग्ने तरखर गर्दै थिए। त्यति बेला एक वृद्ध रंगशालाभित्र प्रवेश गरे। कर्मचारीले खास चासो दिएनन् किनभने सुकुम्बासी बोक्ने अन्तिम गाडी १५ मिनेटअगाडि गुडिसकेको थियो। सुकुम्बासी सबैको विवरण संकलन भइसक्यो भनेर घर लाग्न कर्मचारीलाई ती वृद्धको उपस्थितिले बुधबार साँझ अचम्मित बनायो। ती वृद्ध नाम टिपाउन र बास खोज्न रंगशाला पुगेका थिए।

‘दुई दिन भयो, चिसो जस्तामा सुतेको, अब कहाँ जाने होला?’ वृद्धले निन्याउरो अनुहार लगाएर कर्मचारीसँग भने। प्रहरीले नाम टिपिदियो। नाम टिपाउन पुग्ने ती वृद्ध हुन्, भक्तपुर मनोहराका ७४ वर्षीय टेकनाथ सापकोटा।

झन्डै २५ वर्षदेखि मनोहरा किनारास्थित सुकुम्बासी बस्तीमा बस्दै आएका टेकनाथको घरमा डोजर चलेपछि उनलाई त्यसै पनि तनाव थियो। वृद्ध शरीर र रोगले थलिएकी श्रीमती, छोरी र नाति लिएर बास कता खोज्ने अर्को फसाद परेको गुनासो उनले गरे। त्यही संकटमोचनका लागि उनी रंगशाला पुगेका थिए।

‘दुई दिनअघि नै घर भत्कियो। आफ्ना सामान थन्क्याउनुपर्‍यो। के गर्ने त?’ टेकनाथले कर्मचारीसँग भने, ‘हिजोसम्म जस्तामा सुतियो। श्रीमतीलाई त ज्वरो पनि आएको छ। त्यसै पनि ढाडमा नसाको समस्या अहिले बढेको छ।’

मनोहराको सुकुम्बासीमा डोजर चल्दा टेकनाथले घर गुमाएका थिए। उनले घरसँगै जीवनभर कमाएको सम्पत्ति र सन्तानको सपना पनि गुमाएका थिए। झन्डै छ दशक दुःख गरेर कमाएको घरमा डोजर चल्दा उनलाई हुनुसम्म परेको थियो। ‘थाहै नपाई डोजर चल्यो। सामान निकाल्न पनि पाइएन। के गर्ने के खान समस्या मात्रै छ’, टेकनाथ भन्छन्। टेकनाथको गुनासो सुनेपछि कर्मचारी उनलाई बासस्थान पुर्‍याइदिन तयार भए।

‘गाडी त गइसक्यो तर तपाईँले दुःख पाउनुभएको रहेछ। हामी अर्को गाडी खोजिदिन्छौँ’, एक कर्मचारीले भने। कर्मचारीको आश्वासनले टेकराज केही आशावादी देखिए। तर श्रीमती टीकालाई अर्को तनाव आइलाग्यो- बिरामी शरीरलाई कहाँ बिस्तारा मिल्ने हो?

काठमाडौँको धेरै भूगोलसमेत नजानेकी उनलाई जीवनको ६ दशकपछि आफ्नो बासस्थान गुमाउनुपर्दाको पीडा छ। ‘सुकुम्बासी भनेर वरपरकाले बस्न पनि दिएनन्। घर नै गुम्दा ज्यादै पिरेको छ। के गर्ने?’ टीकाले भनिन्।

टेकनाथ र टीकाको विवाह सुकुम्बासी बस्तीमै भएको थियो। उनीहरूले तीन छोरी र एक छोरालाई टहरोमै जन्माए। जीवन जसोतसो खोलामै चलाए। तर जीवनको उत्तरार्धमा जीवनभरको कमाइ लगाएको झुप्रोमा डोजर लाग्यो।

उनीहरूसँग जीवनमा कहिल्यै जमिन थिएन, तर आश्रयस्थल गुमाउनुपर्ला भन्ने सोचेका पनि थिएनन्। विगतमा जुनजुन सरकार आए, तिनीहरूले बस्ती हटाउने भनेकै थिए। तर आँट गरेनन्। यसपटक सरकारले जे भन्यो, त्यो गर्‍यो।

‘सरकारलाई केही भन्नु छैन। हाम्रो थिएन, डोजर चल्यो’, टेकनाथ भन्छन्, ‘म त जसोतसो बसौँला। मेरा छोराछोरी पनि सुुकुम्बासी नै बन्छन्? के उनीहरूको पनि माटो हुँदैन?’ टेकनाथलाई एउटै कुरा पछुतो छ, उनले बुबाको आफ्नै जग्गामा मर्ने सपना पनि पूरा गर्न सकेनन्। त्यसो त, उनको हजुरबुवाको पनि जीवन सुकुम्बासी भएरै बितेको थियो।

पुस्तेनी सुकुम्बासी

टेकनाथ सुकुम्बासी परिवारमै जन्मिए। अहिले पनि सुकुम्बासी छन्। यति मात्र भिन्न हो, उनी ताप्लेजुङमा जन्मिए। झापा झरे र काठमाडौँ आए। तर सबैतिर उनी भूमिविहीन बने। उनी जहाँ जान्थे, मालिककै कमाउँथे। अनि मालिकले जति दिन्छन्, त्यही उनको सम्पत्ति हुन्थ्यो। यसरी नै बित्यो उनको सात दशक।

टेकनाथका हजुरबुवाकै पनि जमिन थिएन। टेकनाथका अनुसार हजुरबुवाले अंश पाएनन्। ‘हजुरबा अलि सोझो खालको हुनुहुँदो रहेछ। दाजुहरूले छल गरेर आफ्नो मात्र जमिन नपाए। बुवालाई चाहिँ गोठमा बस भनेका रहेछन्’, उनी भन्छन्। हजुरबाकै जग्गा नभए पछि बुवाको हुने कुरै भएन। ‘मेरा बुवा घरमा नबस्ने खालको भएकाले सम्पत्तिको खासै आसै गर्नुभएन। आमाले दुःखले हामीलाई पाल्नुभयो’, उनी सम्झन्छन्।

टेकनाथको बाल्यकाल ताप्लेजुङको छाप्रोमै बित्यो। युवक बनेपछि उनी झापा आए। २०३६ सालतिर झापामा झोडा फाँडेर बस्न पाइने व्यवस्था थियो। त्यही काम गरे अनि जग्गा कमाउन थाले। ‘जसको जोत, उसको पोत’ चलेका बेला टेकनाथको पनि जग्गा भयो। २०३९ सालमा कित्ताकाट गर्नुपर्ने भयो। नापी कार्यालयले सबैको जग्गा नाप्यो पनि। त्यसबेला नापीले जग्गा आफ्नो नाम गर्न १० हजार रुपैयाँ माग्यो। उनीसँग पैसाका नाममा ‘फुटेको कौडी थिएन’। ‘मेरो आसपासको सबैको नम्बरी जग्गा भयो। मेरो साथमा १० हजार पनि थिएन। त्यसपछि पनि म सुकुम्बासी नै बनेँ’, उनी भन्छन्।

उनी २०४२ सालमा काठमाडौँ आएर फर्निचर कारखानामा काम गरे। लामो समय गौशालामा बिताए। त्यहाँ पनि टिक्न दिइएन। त्यसपछि उनी मनोहरा सरे। जग्गा दिने आश्वासनमा उनी मनोहरा सरेका थिए। चार वर्षपछि थाहा भयो, त्यो जग्गामा खोलाको रहेछ। ‘तरकारी बजार शिलान्यास गरेपछि मात्र थाहा भयो। त्यो जग्गा त पर्ति रहेछ’, उनी थप्छन्, ‘त्यसपछि त झनै सुकुम्बासी नै भइयो।’

२५ वर्षमा बनाएको घर, त्यही घरमा लाग्यो डोजर

मनोहराको बगरमै रहेको उनको घरमा बर्खामा पानी आइरहन्थ्यो। त्यही खोला थुन्न उनले दुई मिटर लामो पर्खाल लगाएका थिए। यसपटक डोजरले पर्खाल मात्र होइन घर नै तान्यो। ‘जीवनभरको कमाइ घरमा खन्याएको थिए। त्यो २५ वर्ष बनाउँदा त घर नै करोडको थियो।’ उनी भन्छन्। अब उनलाई कहाँ जाने÷के गर्ने पत्तो छैन। यही क्रममा उनी बास खोज्दै दशरथ रंगशाला पुगेका थिए। यतिबेला उनको शरीरसँग मन पनि गलेको थियो। अब कसरी गुजारा टार्ने उनलाई पत्तो थिएन। ‘पहिले उमेर थियो। सबैले काममा लगाउँथे। अब त उमेर पनि छैन,’ उनी भन्छन्, ‘मेरो साहारा नै सकियो। कसरी बाँच्ने?’

कमाउन बिदेसिए छोरा, युद्धको प्रभावले फर्किने चाहना

टेकनाथका छोरा अहिले वैदेशिक रोजगारीका लागि यूएईमा छन्। पश्चिम एसिया युद्धले उनी फर्किने सुरसारमा छन्। मंसिरमा मात्र उनी त्यहाँ पुगे पनि परिस्थितिले फर्किनुपर्ने भएको छ।

‘छोरो विदेशमा छ। कतिबेला युद्धमा पर्‍यो भन्ने लाग्छ,’ टेकनाथकी श्रीमती टीका भन्छिन्, ‘छोरालाई फर्कन सल्लाह दिएको, साहुले ‘पाँच लाख बुझाएर जा’ भने रे। अब हामीले कहाँबाट निकाल्नु त्यत्रो पैसा?’ छोराले पनि नौ कक्षा भन्दा पढ्न सकेनन्। जब कमाउन बिदेसिए, तब युद्धमा परे। अहिले फर्किने चाहनामा छन्। टेकनाथ-टीकालाई एकातिर घर गुमेको पीडा छ भने अर्कातिर छोराको तनाव। ‘बुढेसकालको एक्लो साहारा छोरा नै हो। अब युद्धमा पर्‍यो। कसरी आउला’, टीका भन्छिन्।

‘थोरै भए पनि जमिन होस्, आफैँ कमाइ गरेर खान्छौँ’

टेकनाथको परिवारका सबै कमाइका भाडा रित्तिए। आफ्नो वृद्धभत्ता पनि श्रीमती टीकाको उपचारमा खर्चिनुपर्छ। ‘मेरो वृद्धभत्ता चार हजार आउँछ, बूढीको उपचारमा तीन हजार जान्छ। अरू कमाइ केही पनि छैन’, उनी भन्छन्, ‘मैले यही पाला पनि गहुँ लगाएको छु। त्यो कमाइ निकाल्न पाउनुपर्छ।’ टेकनाथलाई होटल वा अन्य ठाउँ बस्न पटक्कै मन छैन। उनी सानो भए पनि आफ्नै जमिनमा बनेको घरमा बस्न मन छ। ‘सरकारले भाडामा जग्गा कमाउन दियोस्। हामी कमाइ खान दिन्छौँ’, उनले भने।

प्रकाशित: १७ वैशाख २०८३ ६:३३ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast