सुर्खेत- कणाली प्रदेशमा शनिबारदेखि कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आयोजना हुने भएको छ। शनिबारदेखि १९ र २० वैशाख वीरेन्द्रनगरस्थित सिटी हलको प्रांगणमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएका छन्।
गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणको सफलतापछि यस वर्ष थप परिष्कृतरूपमा महोत्सवलाई निरन्तरता दिन लागिएको आयोजकको दाबी छ। परिवर्तनका लागि युवा, राष्ट्रिय युवा परिषद्, राष्ट्र निर्माण मञ्च नेपाल, प्लेयिङ फर चेन्ज र कर्णाली युथ फाउन्डेसनलगायत संस्थाहरू यस महोत्सवका आयोजक तथा सहआयोजकका रूपमा छन्।
‘कर्णालीका युवाहरूका लागि आफ्नो शक्ति, सिर्जनशीलता र सम्भावनालाई उजागर गर्ने साझा डबलीको रूपमा दोस्रो संस्करण गर्न लागेका छौँ,’ मूल आयोजक समिति संयोजक विनोदकुमार शाहीले भने, ‘कर्णालीको समृद्धिमा राज्यको दायित्व, जनप्रतिनिधि र युवाका सवाल, मिडियामा कर्णालीको स्थान, पर्यटन, शिक्षा, र स्वास्थ्य जस्ता विषयमा गहन छलफल हुनेछ।’
यस्तै वक्तृत्वकला, क्षितिज समर्पणद्वारा लिखित पुस्तक तोरकिन र ओम रिजालद्वारा लिखित पैकेलोको चर्चा गरिने जनाइएको छ। कर्णालीका विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गर्ने कर्णालीका उत्कृष्ट १० जना युवालाई कर्णाली युथ आइकन अवार्डबाट सम्मानित गरिने शाहीले बताए। महोत्सवमा कर्णालीको मौलिक देउडा खेल, सांगीतिक र साहित्यिक प्रस्तुतिहरू पनि समावेश हुने जनाइएको छ।




