तपाईं आफ्नो परिचय कसरी दिनुहुन्छ? पक्कै पनि हामी आफ्नो नाम र थर भन्छौँ। कुनै अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम होस् वा स्थानीय तपाईँले भन्ने नाम त्यही नै हो। तर कल्पना गर्नुहोस् त तपाईं कुनै अन्तर्राष्ट्रिय मञ्चमा गैँडा भन्नुभयो भने अरू देशका मान्छेले बुझ्छन्? पक्कै पनि बुझ्दैनन्। अमेरिका-बेलायततिरकाले ‘राइनो’ भन्लान्। चिनियाँ, कोरियनहरूले अर्कै नामले चिन्लान्।
त्यतिमात्र होइन, नेपालमै पनि भूगोलका आधारमा एउटै जीव वा फललाई भिन्नभिन्न नामले चिनिन्छ। प्राणीशास्त्री अनुज घिमिरेले आफ्नो एउटा ब्लगमा यस्तै एउटा घटना उल्लेख गरेका छन्।
मनाङमा फिल्डबाट फर्कँदै गर्दा बाटोमा एक सहकर्मीले उनलाई बेलौती खाने भनेर सोधेछन्। उनले लेखेका छन्, ‘मैले जिन्दगीमा त्यस अगाडि बेलौती भन्ने शब्द सुनेको नि थिएन! के हो त्यस्तो? भन्दै म अचम्म परेँ। र, ल्याउनुस् मैले अहिलेसम्म खाएको छैन भनेँ। विक्रम दाइ अचम्म परेर बेलौती किन्न गए। केहीबेरमा एउटा झोला हल्लाउँदै आए र झोला मलाई दिए। केके न रहेछ बेलौती भन्दै झोला खोलेको भित्र थियो- अम्बा।’
यस्तै वनस्पति, चराहरू, अन्य विभिन्न कीरालाई पनि विभिन्न नामले चिनिन्छ। पृथ्वीमा लाखौँको संख्यामा जीवजन्तु र वनस्पति पाइन्छन्। एउटै जीवलाई संसारका विभिन्न भागमा भिन्नभिन्न स्थानीय नामले चिनिन्छ। हामी जसलाई ‘बाघ’ भन्छौँ, अंग्रेजीमा त्यसलाई ‘टाइगर’ भनिन्छ। अन्य भाषामा अर्कै नाम हुन सक्छ।
यस्तो भाषिक विविधताले वैज्ञानिक अध्ययन र अनुसन्धानमा ठूलो अन्योल सिर्जना गर्छ। यही अन्योल चिर्न र विश्वभर एउटै नामले कुनै पनि जीव वा वनस्पतिलाई चिन्न वैज्ञानिक नामकरण गर्न थालिएको हो।
वैज्ञानिक नामकरण नाम राख्ने प्रक्रिया मात्र होइन, यो जीवविज्ञानको एउटा जग हो जसले प्रकृतिलाई एउटा व्यवस्थित ढाँचामा ढाल्ने काम गर्छ। वैज्ञानिक नाम राख्ने प्रयास प्राचीन कालदेखि भएको पाइन्छ।
१८ औँ शताब्दीअघिसम्म वैज्ञानिक नामहरू निकै लामा र झन्झटिला हुन्थे। कुनै एउटा बिरुवाको नाम वर्णन गर्दा पूरै वाक्यनै लेख्नुपर्ने अवस्था थियो। तर १८ औँ शताब्दीका बेला स्विडिस जीवशास्त्री कार्ल लिनियसले द्विपदीय नामकरण सिर्जना गरेर यो अभ्यासलाई सरलीकृत गरेको ब्रिटानिकाले लेखेको छ।
सन् १७५३ मा उनले ‘स्पेसिस प्लान्टारम’ र सन् १७५८ मा ‘सिस्टेमा नेचुरी’ को १०औँ संस्करण प्रकाशित गरे। यी पुस्तकहरूले ‘बाइनोमियल नोमेनक्लेचर’ अर्थात् दुई नाम पद्धतिलाई विश्वव्यापी रूपमा स्थापित गरे।
त्यसपछि जीवलाई जिनस (वंश वा समूह) र प्रजातिको नामबाट नामकरण गर्न थालियो। जस्तै- बाघको वैज्ञानिक नाम ‘प्यान्थेरा टाइग्रिस’ हो। प्यान्थेरा भनेको ठूला प्रजातिको बिरालो भन्ने बुझिन्छ भने टाइग्रिसले बाघ बुझाउँछ। त्यस्तै सिंहलाई ‘प्यान्थेरा लियो’, चितुवालाई ‘प्यान्थेरा पार्डस्’ भनिन्छ।
वैज्ञानिकहरूले कहिलेकाहीँ नाम राख्दा जीवको बानी हेर्छन् त कहिले ठाउँ। जस्तै : नेपालमा पाइने अल्छे भ्यागुतोलाई ‘स्कुटिजर नेपालेन्सिस’ वैज्ञानिक नाम दिइयो।
त्यस्तै रारातालमा पाइने पाहा भ्यागुतोलाई ‘नानोराना रारिका’ नाम दिइयो। प्राणीशास्त्री रामचन्द्र अधिकारीका अनुसार कुनै जीवको वैज्ञानिक नाम राख्दा ल्याटिन भाषामा लानुपर्ने नियम भएकाले ‘रारा’ लाई ल्याटिनी बनाउँदा ‘रारिका’ भएको हो।
वैज्ञानिक नाममा एउटा समानता छ, त्यो हो भाषा। जुनसुकै वैज्ञानिक नामका लागि ल्याटिन भाषा प्रयोग गरिन्छ।
ल्याटिन भाषा किन?
तपाईंलाई कसैले ‘बबाल देखिनुभएको छ’ भन्यो भने तपाईं के बुझ्नुहुन्छ? पक्कै पनि आफू राम्रो देखिएको छु वा उसले तपाईंको आवरणलाई राम्रो भन्यो भन्ने बुझ्नु हुन्छ होला। तर ‘बबाल’ को शाब्दिक अर्थ त अनावश्यक झमेला वा बखेडा भन्ने हुन्छ।
त्यस्तै अंग्रेजीमा कसैले ‘यू आर भेरी कुल’ भन्यो भने अहिलेको युवापुस्ताले आफूलाई ‘राम्रो वा प्रशंसा’ गरेको बुझ्छ। तर ‘कुल’ को अर्थ त शीतल भन्ने बुझिन्छ। त्यसैले हामीले अहिले प्रयोग गरिरहेका भाषाका शब्दहरूले भोलिका दिनमा अर्कै अर्थ पनि बुझाउन सक्छन्। भाषावैज्ञानिकहरू यसलाई भाषिक परिवर्तन भन्छन्।
ल्याटिन भाषामा भने अर्थ फेरिँदैन, यो अकाट्य हुन्छ। सयौँ वर्षअघि यसको अर्थ जे थियो, आज पनि त्यही हुन्छ। त्यसैले यसलाई ‘डेड ल्यांग्वेज’ अर्थात् ‘मृत भाषा’ पनि भनिन्छ। सामान्यतया अहिले यसलाई बोलीचालीको भाषाका रूपमा प्रयोग गरिँदैन। यसको अर्थको अनर्थ लाग्ने वा परिवर्तन हुने सम्भावना पनि नरहने अर्का प्राणीशास्त्री एवं पारिस्थिकीयविद् राजेन्द्र नरसिंह सुवाल बताउँछन्। ‘यो हाम्रो संस्कृत भाषा जस्तै हो, यसको अर्थ परिवर्तन हुँदैन,’ उनले भने।
यही ‘मृत भाषा’ वैज्ञानिकका लागि वरदानजस्तै भएको छ। विश्वभरका वैज्ञानिकले यही भाषामार्फत जीव, वनस्पतिहरूको नाम राख्ने गर्छन्। यसो हुँदा नाममा विश्वव्यापी एकरूपता कायम हुन्छ। एउटा वैज्ञानिकले नेपालमा बसेर गरेको अनुसन्धान अन्य पनि कुनै देशको अर्को वैज्ञानिकले सजिलै बुझ्न सक्ने र नाममा कुनै भाषिक अवरोध पनि नरहने सुवालको भनाइ छ।





