नेपाल राष्ट्रिय शिक्षक संगठन (नेराशिस) का अध्यक्ष हंसबहादुर शाही।
काठमाडौँ- धनुषाको कमला नगरपालिकाअन्तर्गत कार्यरत शिक्षक तथा कर्मचारीहरूले गत साउनदेखि हालसम्म तलब नपाएकोप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले गम्भीर ध्यानाकर्षण जनाएको छ।
संगठनले बुधबार जारी गरेको विज्ञप्तिमा शिक्षा जस्तो संवेदनशील क्षेत्रमा निरन्तर सेवा दिइरहेका शिक्षक तथा कर्मचारीलाई लामो समयसम्म पारिश्रमिक नदिइनु उनीहरूको पेसागत मर्यादा र दैनिक जीवनयापनमाथि गम्भीर प्रहार भएको उल्लेख गरिएको छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिले सम्बन्धित निकायसँग यथाशीघ्र बाँकी सम्पूर्ण तलब निकासा गरी शिक्षक तथा कर्मचारीलाई तत्काल भुक्तानी गर्न जोडदार माग गरेको छ।
विज्ञप्तिमा यस्तो किसिमको लापरवाहीले शिक्षा क्षेत्रको मनोबल कमजोर बनाउने भन्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित पक्षलाई गम्भीर हुन पनि आग्रह गरिएको छ।
संगठनका अध्यक्ष हंशबहादुर शाहीका अनुसार समयमै तलब नपाउँदा शिक्षक तथा कर्मचारीहरू आर्थिक तथा मानसिक रूपमा प्रभावित भएका छन्। उनले तत्काल समस्या समाधान नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी समेत दिएका छन्।




