‘परालको आगो’को बक्स अफिस सुखद, ७ दिनमा २ करोडको आँकडा पार

हिमाल प्रेस १७ वैशाख २०८३ १२:०७ | Thursday, April 30, 2026
6
SHARES
‘परालको आगो’को बक्स अफिस सुखद, ७ दिनमा २ करोडको आँकडा पार

काठमाडौँ- गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले पहिलो साता बक्स अफिसमा सुखद नतिजा निकालेको छ। पहिलो दुई दिनमा १ करोडमाथिको व्यापार गरेको फिल्मले ६ दिनमा भने २ करोडको आँकडा पार गरेको छ । बिहीबार निर्माता सुशील पोखरेलले चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांक नै सार्वजनिक गर्दै कमाइबारे जानकारी दिएका हुन् ।

फिल्मले बुधबारसम्म घरेलु बक्स अफिसमा २ करोड ११ लाख १३ हजार रुपैयाँ ग्रस कमाइ गरेको बोर्डको तथ्यांकमा देखिन्छ। फिल्मको नेट कमाइ भने १ करोड ८४ लाख ४ हजार ३२८ रुपैयाँ रहेको छ । बुधबारसम्म फिल्मका ७६ हजार ९३६ वटा टिकट बिक्री भएका छन् । यसरी हेर्दा फिल्मका लागि प्रदर्शनको पहिलो साता सन्तोषजनक बनेको देखिन्छ ।

‘वर्ड अफ माउथ’ बलियो हुँदा फिल्मले दिन प्रतिदिन हलमा दर्शकको उपस्थिति बढाइरहेको छ। यसैले प्रदर्शनको सातौं दिनमा आइपुग्दा पनि फिल्मको शो खासै घटेको छैन। बिहीबारलाई मात्र फिल्मले देशव्यापी १४० भन्दा बढी शो पाएको छ । प्रदर्शनको पहिलो दिन पनि फिल्मको शो संख्या यही आसपास थियो । यसअर्थ फिल्मले दर्शकलाई हलमा तान्न सफल भएको देखिन्छ।

फिल्मले देशभर सुखद व्यापार गरेपछि मंगलबार निर्देशकदेखि कलाकारसम्म दर्शकहरूको प्रतिक्रिया बुझ्न नेपालगन्ज पुगेका थिए। फिल्मका मुख्य अभिनेता प्रकाश सपूत र अभिनेत्री सिर्जना अधिकारीले बुधबार नेपालगन्जका सिनेरोयल र बागेश्वरी हलमा पुगेर दर्शकहरूसँग भेट गरे । नेपालगन्जबाट उनीहरू बिहीबार काठमाडौं फर्किएका छन् ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको ‘परालको आगो’ लगभग ३ करोडको लगानीमा निर्माण भएको बुझिएको छ । यो लगानी उठाउन फिल्मले घरेलु बजारबाट झन्डै ७ करोडको व्यापार गर्नुपर्छ। पहिलो ६ दिनमै २ करोडको आँकडा पार गरेको फिल्मले अब ५ करोड रुपैयाँ ग्रस कमाउँदा लगानी सुरक्षित हुने देखिन्छ । यो हुँदा ‘परालको आगो’ यस वर्षको पहिलो हिट फिल्म बन्नेछ।

प्रकाशित: १७ वैशाख २०८३ १२:०७ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast