काठमाडौँ- विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा गरिएको छ। ललितपुरमा आयोजित एक कार्यक्रमका बिच प्रतियोगिता, निर्णायक समिति, पुरस्कार सार्वजनिक गरिएको हो ।
कार्यक्रममा चर्चित अभिनेता दयाहाङ राईले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् । कार्यक्रममा अभिनेता दयाहाङ राईले नृत्य आफूलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम भएको बताए । आफ्नो रहनसहन र संस्कृतिलाई सँगै लिएर हिँड्न नृत्य सहायक हुने उनको धारणा रहेको थियो ।
सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिसकेको यो प्रतियोगिता नेपाल ल्याउनुको उद्देश्य नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने रहेको आयोजक पक्षले जानकारी दिएको छ ।
प्रतियोगितामा बलिउडका प्रख्यात कोरियोग्राफर तथा समकालीन नृत्यका बादशाह टेरेन्स लुइस, नेपाली किरण थापा र जेडी तमु जर्जको रूपमा रहनेछन् ।
कार्यक्रममा बोल्दै ‘वर्ल्ड अफ डान्स नेपाल’ का राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली डान्सरहरूले पनि उत्सव मनाउन सक्ने स्तरको अन्तर्राष्ट्रिय प्लेटफर्म नेपालमै आओस् भन्ने चाहना अनुरूप यो कार्यक्रम ल्याइएको बताए ।
प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार, २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् । वैशाख १९ गते नेपालगन्ज, वैशाख २२ गते बुटवल, वैशाख २६ गते पोखरा, वैशाख ३० गते काठमाडौँ र जेठ २ गते इटहरीमा छनौट चरणको अडिसन हुने प्रतियोगिताको सेमिफाइनल जेठ २१ गते र फाइनल जेठ २३ गते हुनेछ ।



