काठमाडौँ- बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता बढाएको छ । कम मात्रामा फर्म वा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दै आएको विभागले पछिल्ला दिनमा एकै पटक ठुलो सङ्ख्यामा अनुगमन गर्दै आएको हो ।
यसै क्रममा विभागले सोमबार मात्रै काठमाडौँ महानगरपालिका १ दरबारमार्ग र वडा नं ३० को कमलपोखरी क्षेत्रका व्यावसायिक प्रतिष्ठान, फर्ममा अनुगमन गरेको छ । अनुगमनपछि विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ ।
उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा विभागले नियमित अनुगमन गर्दै आएको जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले जनाएको छ ।



