कञ्चनपुर : लागुऔषध मुद्दामा एक वर्षमा ३३४ जना पक्राउ

हिमाल प्रेस ४ वैशाख २०८३ १६:०९ | Friday, April 17, 2026
20
SHARES
कञ्चनपुर : लागुऔषध मुद्दामा एक वर्षमा ३३४ जना पक्राउ

महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ। गत वर्षको वैशाखदेखि चैत मसान्तसम्मको अवधिमा ३०५ पुरुष र २९ महिला गरी ३३४ जना अभियुक्त लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिए। उनका अनुसार सो अवधिमा प्रहरीले ७५३ ग्राम खैरोहिरोइन, ३३ किलो ३६४ ग्राम चरेश, दुई किलो ४२ ग्राम गाजालगायत विभिन्न लागुऔषध बरामद गरिएको छ।

‘गएको वर्ष लागुऔषधमा २०१ मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढ्यो,’ प्रहरी उपरीक्षक खत्रीले भने, ‘हामीले कारबाही र सचेतनाका लागि अभियानसँगै सञ्चालन गरेका छौँ।’ उनले पछिल्लो समय लागुऔषध समाजमा भयानक रूपमा फैलिएको भन्दै त्यसको रोकथाम र न्यूनीकरणका लागि समाजका सबै नागरिक जागरुक हुनुपर्ने बेला आएको बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्या‌ंकअनुसार २०८२ वैशाखमा यहाँ २२ जना लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। त्यसै गरी जेठ महिनामा ४०, असारमा २०, साउनमा १६, भदौमा १६, असोजमा ११, कात्तिकमा २९, मङ्सिरमा २३, पुसमा १८, माघमा ४९, फागुनमा ४१ र चैत महिनामा ४५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खुला सीमानाकाका कारण भारतबाट लुकिछिपी लागुऔषध आयात हुने गरेको छ। पछिल्लो समय नेपाल-भारत संयुक्त सीमा बैठकमा उक्त विषयमा नेपाली अधिकारीहरूले नियन्त्रणका लागि कुरा उठाउने गरेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए।

उनले कञ्चनपुर कारागारमा ३५ प्रतिशत लागुऔषध मुद्दाका आरोपी कैदीबन्दी रहेका जानकारी दिए।

प्रकाशित: ४ वैशाख २०८३ १६:०९ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast