बुटवलमा रैथाने सिप, कला र उत्पादन प्रदर्शनी

हिमाल प्रेस ५ वैशाख २०८३ २१:१६ | Saturday, April 18, 2026
8
SHARES
बुटवलमा रैथाने सिप, कला र उत्पादन प्रदर्शनी

बुटवल– विश्व ‘सक्पखम’ दिवसको अवसर पारेर शनिबार बुटवलमा रैथाने सिप, कला र उत्पादन प्रदर्शनी–२०८३’ गरिएको छ। स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालको आयोजनामा प्रदर्शनी गरिएको हो।

रैथाने सीप, कला र उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्ने उदेश्यले पहिलोपटक प्रदर्शनी गरिएको छ।

प्रदर्शनीका अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले स्थानीय उत्पादन र संस्कृति पर्यटनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने बताए।

उनले स्थानीय सरकारले यस्ता पहललाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। पूर्वसचिव डा. मानबहादुर बिकेले परम्परागत उत्पादनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए। उनले यस्ता सीपलाई पुस्तान्तरण गर्दै बजारसँग जोड्न आवश्यक रहेको बताए।

गन्धर्व समाजका केन्द्रीय अध्यक्ष कर्णबहादुर गन्धर्वले कला र संस्कृति नै इतिहास बोल्ने माध्यम भएकाले तिनको संरक्षणमा सबै जुट्नुपर्ने बताए। उनले लोपोन्मुख सांस्कृतिक सम्पदाको जगेर्ना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।

प्रदर्शनीले लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार विस्तार तथा रोजगारी सिर्जनामा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

रैथाने उत्पादनको बजारीकरणको अभियान चलाएका खस्यौली बजारका व्यवस्थापक समुन्द्र घिमिरेले रैथाने वस्तु र संस्कृतिको संरक्षण नै आफ्नो अभियान भएकाले यसमा साथ दिने र खासगरी नयाँपुस्तालाई यसमा जोड्ने आफ्नो अभियान भएको जनाएका छन्।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको संयोजनमा प्रदर्शनी गरिएको संयोजक रेवन्तबहादुर विश्वकर्माले बताए।

प्रदर्शनीमा स्थानीय सीपसम्बन्धी प्रत्यक्ष प्रदर्शन, हस्तकला तथा स्थानीय उत्पादनका ५० बढी स्टल, मौलिक खाना परिकार राखिएको थियो। खस्यौली बजार स्थलमा राखिएको प्रदर्शनीमा झाँकी तथा सांस्कृतिक प्रस्तुति समेत देखाइएको थियो।

प्रकाशित: ५ वैशाख २०८३ २१:१६ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast