पश्चिम एसियाको द्वन्द्वप्रति सरकार संवेदनशील छ : पररराष्ट्र मन्त्रालय

हिमाल प्रेस ११ वैशाख २०८३ २०:५६ | Friday, April 24, 2026
10
SHARES
पश्चिम एसियाको द्वन्द्वप्रति सरकार संवेदनशील छ : पररराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्र मन्त्रालयले पश्चिमी एसिया क्षेत्रमा द्वन्द्व कायमै रहेकाले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र हितमा संवेदनशील रहेको जनाएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको र सो क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षामा संवेदनशील रहेको बताए।

पश्चिमी एसिया क्षेत्रमा ठूलो संख्यामा रहेका नेपाली नागरिकको सुरक्षा र हितका लागि नेपाल सरकारको पहल जारी रहेको उनको भनाइ छ। उनले तेहरानमा रहेका १० जना नेपाली नागरिकमध्ये दुई जना फर्कने तयारीमा रहेको र बाँकी ८ जनाले तुरुन्त फर्कन नचाहेको जानकारी दिए।

द्वन्द्व सुरु हुनुपूर्व नै इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा संलग्न रहेको पानी जहाजको मुद्दाका बारेमा स्थानीय अदालतबाट एक चरणको फैसला भई चार जना रिहा भइसकेको र झासहित बाँकीको रिहाइको प्रक्रिया अगाडी बढिसकेको उनको भनाइ छ।

यद्यपि इरानको हालको विषम अवस्था र त्यहाँको न्यायिक प्रणालीअन्तर्गत केही कानुनी प्रक्रिया पूरा गर्न अझै बाँकी रहेकोले यो विषय टुङ्गिन केही दिन लाग्न सक्ने देखिएको प्रवक्ता क्षेत्रीले बताए।

त्यस्तै उनले कम्बोडियामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना नेपाली नागरिक पक्राउ परेको जानकारी दिए। थाइल्यान्ड र म्यानमारस्थित नेपाली दूतावासको पहलमा हालसम्म दक्षिणपूर्वी एसियाली राष्ट्रबाट ६ सय १२ नेपालीको उद्दार गरिएको समेत मन्त्रालयले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०८३ २०:५६ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast