काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त चार सञ्चालक सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट यी पदहरू भर्नका लागि सार्वजनिक सूचना जारी गरेको हो।
नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा (१) बमोजिम रिक्त रहेका ३ जना र उपदफा (७) बमोजिम आगामी ६ महिनाभित्र रिक्त हुने १ जना गरी जम्मा ४ जना सञ्चालक सदस्य नियुक्त गर्न लागिएको हो।
सूचना अनुसार वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्यातिप्राप्त वा उड्डयन तथा पर्यटन प्रवर्द्धन सम्बन्धी क्षेत्रमा अनुभव प्राप्त इच्छुक व्यक्तिहरूले यस पदका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफ्नो आवेदन दर्ता गराउनुपर्नेछ।





