चाइना जर्नल

नेपालको विकासमा चिनियाँ १५औँ पञ्चवर्षीय योजना

अजय अलौकिक ८ वैशाख २०८३ २१:३३ | Tuesday, April 21, 2026
24
SHARES
नेपालको विकासमा चिनियाँ १५औँ पञ्चवर्षीय योजना

गत मार्चमा आयोजित दुई अधिवेशनको समापन सँगसँगै चीनमा ‘१५औँ पञ्चवर्षीय योजना’ औपचारिक रूपमा सुरु भएको छ। विश्वव्यापी आर्थिक जगतमा सुस्तता र निरन्तरको भूराजनीतिक अशान्तिका बीच चीनका कुनै पनि योजना, पहल र प्रस्तुतीले विश्वको ध्यान खिच्ने गरेकै छ।

त्यसमाथि, चिनियाँ दुई अधिवेशन र सँगसँगै नयाँ पञ्चवर्षीय योजनाको थालनीले विश्वलाई आकर्षित नगर्ने सवालै भएन। यसै वर्षबाट प्रारम्भ १५औँ पञ्चवर्षीय (२०२६-२०३०) योजनाले अभूतपूर्व रूपमा अन्तर्राष्ट्रिय जगतको ध्यान आकर्षित गरेको देखिन्छ।

अन्तर्राष्ट्रिय दृष्टिकोणमा, यो योजना चीनको आगामी पाँच वर्षको रोडम्याप मात्र नभएर अनिश्चित विश्व वातावरणमा ‘स्थिरता’ र ‘विकासको चालक’ को स्रोतको रूपमा हेरिएको छ। यसलाई सुदृढ अवसर र अवसरहरूको सूचीको रूपमा चित्रण गरिएको छ। यस योजनामा संलग्न नीतिहरूले चीनलाई मात्रै होइन, विश्वलाई नै फाइदा पुर्याउने विश्वास विज्ञ तथा समिक्षकहरूले गरेका छन्।

अशान्त विश्वलाई चीनले भविष्यउन्मुख दिशा देखाएको भनी उल्लेख गरिएको छ। चीनको उपभोग प्रवर्द्धनमा गरिएको जोडले विश्व अर्थतन्त्रको वृद्धिमा सहयोग पुग्ने अपेक्षा लिइएको छ।

चीनले आफ्नो जीडीपी वृद्धि दरको लक्ष्य ४.५ देखि ५ प्रतिशतसम्म निर्धारण गरेर उच्च गुणस्तरीय विकासलाई जोड दिएको भन्दै यसले विश्वसँगको सहकार्यमा नयाँ अवसरहरू ल्याउने विश्वास गरिएको छ। विश्वले चिनियाँ योजनाको कार्यान्वयनबाट स्थिरता र अवसर, सहयोग, सहकार्य तथा साझा विकास, र खुलापन तथा विशाल बजार पाउने सम्भावना भएसँगै विश्वको चासो अवश्य पनि बढ्ने नै भयो।

अब, यो योजना सम्बन्धमा चीनको दृष्टिकोण के छ, त? सन् १९५३ बाट सुरु भएको यो पञ्चवर्षीय योजनाले ‘पहिलो पञ्चवर्षीय योजना’ देखि ‘पन्ध्रौँ पञ्चवर्षीय योजना’ सम्म, यसले नीतिको निरन्तरता र कार्यान्वयन क्षमतालाई सुनिश्चित गरेको छ। चीनले ७० वर्षअघिदेखि महान लक्ष्यलाई चरणगत कार्यहरूमा विभाजन गर्दै र दीर्घकालीन दृष्टिकोणबाट विकास हासिल गर्दैआएको छ।

यसपटकको योजनाले मुख्यतः प्रविधिमा आत्मनिर्भरता खोजेको छ। आगामी ५ वर्षमा, चीनले नयाँ गुणस्तरीय उत्पादकत्व शक्तिको विकासमा जोड दिँदै कृत्रिम बुद्धिमत्ता र अर्थतन्त्रको जोडलाई प्रवर्द्धन गर्ने छ। डिजिटल अर्थतन्त्र, डिजिटल समाजका साथै हरित विकास र हरित समाजतर्फ ध्यान दिएको छ। यसको अर्थ चिनियाँ बजार अझ बढी उच्च प्रविधियुक्त र दिगो हुने देखिन्छ।

यो चीनको दोस्रो शताब्दी लक्ष्य प्राप्तितर्फको महत्त्वपूर्ण चरण पनि हो। जनता पहिला भन्ने नारासहित जनजीवनलाई प्राथमिकता दिएको छ। चीनको विकास सधैँ सर्वसाधारणको जीवनस्तरलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहँदैआएको छ। यसैगरी उच्चस्तरको खुलापन विस्तार, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को गुणस्तरीय संयुक्त निर्माण र अझै खुला ठूलो बजारले विश्वलाई नै सुअवसर दिइरहेको छ।

साथै, अशान्त विश्वमा साझा भाग्य समुदायको प्रवर्द्धनसँगै बहुपक्षीयता र शान्तिपूर्ण विकासको मार्ग अनुसरण गर्दैआएको छ। यसरी, चीनको योजनाले छिमेकी देश नेपाल, दक्षिणी गोलार्ध र विश्वले नै लाभान्वित हुने अवसर पाउने देखिन्छ।

नदी, नाला तथा हिमाल र पहाडले जोडिएका सदाबहार मित्रका रूपमा नेपालले के कसरी फाइदा लिन सक्छ त?

प्रथमतः चीनको सफल अनुभवबाट नेपालमा गरिबी न्यूनीकरण र निवारणका तरिका र उपायहरू सिक्न सकिन्छ। पूर्वाधार विकास र सम्पर्क सञ्जालको निर्माणमा सहयोग र सहकार्यलाई तीव्रता दिन सकिन्छ। दक्षिण एसियाली बजार जोड्ने पुल र नेपाली उत्पादनलाई चीनको विशाल बजारमा प्रवेश गराउँदै विश्व बजारसम्म पहुँच पुर्याउन सकिन्छ। यसबाहेक, डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, आधुनिक कृषि, हरित ऊर्जा तथा पर्यटनको क्षेत्रमा तालिम, अनुभव, सहयोग र सहकार्य गर्न सकिन्छ।

यसै सन्दर्भलाई लिएर चाइना मिडिया ग्रुप (सीएमजी) मातहतको सीजीटीएन नेपाली सेवाले साइनो नेपाल मिडिया सोसाइटीसँग मिलेर चीनले १५औँ पञ्चवर्षीय योजना कार्यान्वयन गरेसँगै यसले लिएको नीति र नेपालमा पार्ने प्रभावसम्बन्धमा (अप्रिल १०) चैत्र २६ गते एक अनलाइन गोष्ठीको आयोजना गरेको थियो।

गोष्ठीमा, सीएमजीका महानिर्देशक शन हाइस्योङले १५औँ पञ्चवर्षीय योजनामा उल्लेख चीनको उच्च गुणस्तरीय विकासले विश्वलाई अवसरका नयाँ सूचिहरू उपलब्ध गराएको औँल्याए।

उनले सीजीटीएनको एक सर्वेक्षणको उल्लेख गर्दै ८० प्रतिशत सहभागीले चीनको उच्च गुणस्तरीय विकासको दृष्टिकोण र योजनाले आजको जटिल विश्वमा विश्व आर्थिक क्षेत्रलाई सहयोग पुगेको बताए। विकासका लागि चीन विश्वबाट अलग रहन नसकिने र चीनको समृद्धि पनि विश्वलाई आवश्यक भएको भन्दै विश्व शान्ति तथा विकास र साझा भविष्य सुमदायको विकासमा हातेमालो गर्न आग्रह गरे।

यसै गरी, छिङह्वा विश्वविद्यालयमातहतको चीन विकास योजना अनुसन्धान संस्थानका सहायक निर्देशक ली चले चीनको १५औँ पञ्चवर्षीय योजना र यसको लक्ष्य साथै चीनको साथमा विश्वले के कसरी फाइदा लिनसकिन्छ भन्ने कुरा सुनाएका थिए। उनले २०३० सम्ममा चीनले आर्थिक, प्राविधिक क्षमता र समग्र राष्ट्रिय शक्तिमा ठूलो प्रगति गर्ने बताए। साथै, उनले यो चीनको मात्र लक्ष्य नभएर यसले विश्व अर्थतन्त्रमा पनि फाइदा पुर्याउने औँल्याए।

१५औँ पञ्चवर्षीय योजनामा ‘उच्च-स्तरीय खुलापन विस्तार’ को पूरा अध्याय रहेको र चीनको खुलापन एकल यात्रा नभएर विश्वसँगको सहयात्रा भएको पनि बताए। उनले मरुभूमिहरूलाई ‘ऊर्जा महासागर’ मा बदल्न सोलार र वायुबाट ऊर्जा प्रयोग गर्ने बताए। उनले नेपाली कृषि उत्पादनहरूले चिनियाँ बजारमा प्रवेश पाउने सम्भावनाका कुरा पनि गरेका थिए। आज पनि चियालगायतका विविध नेपाली वस्तुले चिनियाँ बजारमा उपस्थिति नजनाएको भने होइन।

उनले जुन हरित ऊर्जाको कुरा गरे, त्यसलाई गोष्ठीमा सहभागी सबै नेपाली विद्वानहरूले समर्थन गरेका थिए। सो अनलाइन गोष्ठीमा नेपालबाट नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल, चीन नेपाल सम्बन्धका जानकार तथा अन्तरर्राष्ट्रिय मामिलाविद् डक्टर रूपक सापकोटा, त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली निर्देशक डक्टर बलराम दुवाल, र जनआस्था अनलाइनका सम्पादक राजेन्द्र रिमालको सहभागिता थियो।

वर्तमान इन्धन संकटको यो अवस्थामा चीनबाट हरित ऊर्जा सहकार्यमा ध्यान दिनु लाभदायी हुने सहभागी सापकोटाको भनाइ थियो। रिमालले पनि चीनको हरित ऊर्जाको विकासमा चिनियाँ लगानीलाई भित्र्याएर नेपाल लाभान्वित हुन सकिने बताए। सबै वक्ताहरू चिनियाँ बुद्धि, सहयोग भित्र्याउने र सहकार्यमा एकमत नै देखिए।

चिनियाँ सहयोग तथा यस योजनाबाट छिमेकी तथा दक्षिणी गोलार्धलाई दिइरहेको अवसरको लाभ लिनसक्नुपर्ने औँल्याउँदै कृषि, औद्योगिक विकास र प्रविधिमा चीनसँगको सहकार्य एकमात्र विकल्प भएको पनि विचार राखे।

सबै वक्ताहरूले नेपालको आर्थिक विकासको सहकार्यमा चिनियाँ ‘बीआरआई’ लाई अंगाल्नुको विकल्प नभएको उल्लेख पनि गरे। सम्पादक रिमालले चीनको दक्षिणमा अवस्थित लाओस, एक सानो भूपरिवेष्ठित मुलुकले चीनबाट धेरै लाभ लिएको उल्लेख गर्दै ढिलो नगरी चिनियाँ सहयोगबाट नेपालले पनि अवसर र लाभ सिर्जना गर्नुपर्ने औँल्याए।

डक्टर बलराम दुवालले सन् १९८० को तथ्याङ्क हेर्दा चीन र नेपाल उस्तै उस्तै रहे तापनि ४०/५० वर्षको अन्तरमा धेरै ठूलो भिन्नता देखिएको औँल्याए। उनले चिनियाँ विकास नेपालका लागि अवसरै अवसर भएको भन्दै चीनको योजना निर्माणदेखि नै नेपालले सिक्नुपर्ने बताए। ‘योजना कसरी निर्माण गर्ने र कार्यान्वयन कसरी गर्ने नेपालले यो नै सिक्नुपर्ने छ। त्यहाँ डेलिभरी म्यानदेखि प्रोफेसरसम्म, हरेक तह र तप्काको मत र सुझावहरू संकलन गरिन्छ, सुनिन्छ’ उनले भने।

योजनाको सन्दर्भलाई लिएर एमाले नेता विष्णु रिजालको भनाइ भने केही फरक रह्यो। उनी भन्छन्, ‘नेपालमा राजनीतिक अस्थिरताले नेपाली योजना र लक्ष्य असफल भइरहेको छ।’ चीनले सन् १९५३ बाट यस्तो योजनाबद्ध विकासको अभ्यास सुरु गरेको र तीव्र गतिमा विकासको फड्को मारेको उल्लेख गर्दै नेपालमा पनि स्थिर सरकार रहे यसरी विकासको फड्को मार्नसकिने औँल्याए।

‘हाल, नेपालमा १६ औँ पञ्चवर्षीय योजना लागु भएको छ। तर, हाम्रो समस्या भनेको राजनीतिक अस्थिरता हो। नेपालमा कुनै पनि सरकारले ५ वर्ष कार्यकाल पूरा गर्न सकेको छैन। राजनीतिक स्थिरता भयो भने आशा गर्न सकिन्छ,’ उनले भने।

उनको विचारमा नेपालको राजनीतिक अस्थिरता नै प्रमुख बाधक हो। ‘सन् १९५३ बाट चीनमा र १९५६ बाट नेपालमा पनि पञ्चवर्षीय योजना सुरू भएको हो। ७५ वर्षको शासनकालमा नेपालमा कुनै पनि सरकारले ५ वर्ष कार्यवधि पूरा गर्न पाएको छैन। हाल, रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) ले बहुमतको सरकार बनाएको छ। नयाँ पुस्तामा सिफ्ट भएको छ। म चाहन्छु, यसले ५ वर्ष चलाएर खाओस्। राजनीतिक स्थिरता भयो भने आर्थिक विकास हुने आशा छ,’ उनले भने।

साँच्चिकै स्थिर राजनीतिक अवस्था रह्यो भने नेपालले पनि छलाङ मार्दै विकास गर्ने पो हो कि? त्यो त भविष्यको गर्भमा छ।

यसबाहेक, चीनसँगको सहकार्य र सहयोग पनि भनेजस्तो परिणाममुखी नभएको विचार विद्वानहरूले राखेका छन्। ‘समग्रमा चीनले सधैँ नै नेपाललाई समर्थन गरिरहेको छ, तर नेपालले यसलाई परिणाममुखी बनाउन सकेको छैन। चिनियाँ योजनाबाट पनि नेपाली योजनाले कसरी व्यवाहरिक र परिणाममुखी बनाउन सकिन्छ त्यो सिकोस् भन्ने चाहन्छु।’, रिजालले भने।

यस्तै भनाइ चीन नेपाल जानकार सापकोटाको पनि छ। उनी भन्छन्, ‘सुमधुर राजनीतिक सम्बन्धलाई के कारण आर्थिक सहकार्यमा बदल्न सकेका छैनौँ, त्यो महसुस हामी सबैले गरेका छौँ, चीन र नेपालको आर्थिक सहकार्य, बीआरआई सहकार्यमा मिलेर सबै अगाडि बढ्न सकिन्छ भन्ने सबैजसो राजनैतिक पार्टी पुगेको छ, त्यो बिन्दुलाई जोडेर यो पञ्चवर्षीय योजनामा अगाडि बढ्न बुद्धिमानी हुन्छ।’ सुमधुर राजनीतिक सम्बन्धलाई आर्थिक सम्बन्धमा चाहे अनुरूप बढाउन नसकेकोले यो योजनामार्फत् फेरि पनि चीनको महत्त्वपूर्ण सहयोग र समर्थन लिन सकिने उनको बुझाइ छ।

चीन र नेपाल बीच समस्यारहीत सम्बन्ध छ। चीन नेपालप्रति सदा सकारात्मक छ। विद्वान वक्ताहरूले भनेजस्तै राजनीतिक सम्बन्ध सुमधुर छ। आर्थिक सहयोग र सहकार्य पनि जारी छ। सायद, नेपालको राजनैतिक अस्थिरता नै मुख्य कारक पो हो कि? विभिन्न शासनरूपी तन्त्रका लागि क्रान्ति हुँदैआएको नेपालमा अर्थको तन्त्रमा क्रान्ति अत्यन्त जरूरी देखिन्छ।

वर्तमान अवस्थामा जेनजी आन्दोलनपछिको सफल निर्वाचनबाट नयाँ बहुमतीय सरकार गठन भएको छ। नितान्त नयाँ र युवाहरूबाट गठित यो सरकारले स्थिर राजनैतिक वातावरणबाट लाभ उठाउँदै भ्रष्टाचारलाई निर्मूल पारेर आजसम्म हासिल गर्न नसकेको आर्थिक लक्ष्य चिनियाँ गतिमा प्राप्त गर्ने सम्भावना नकार्न सकिँदैन।

चीन र चिनियाँ योजनाले नेपाल र नेपालीको आर्थिक र सामाजिक विकासलाई तीव्रता दिन सहयोग गर्ने नै छ। चीनको १५ औँ पञ्चवर्षीय योजना घरेलु रोडम्याप मात्र नभएर नेपालसहित दक्षिणी गोलार्ध र विश्वव्यापी सहयोग र सहकार्यका लागि पनि अवसर हो।

प्रकाशित: ८ वैशाख २०८३ २१:३३ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast