कम्युनिस्ट एकता दिवसमा विष्णु रिजालका ३ प्रश्न

हिमाल प्रेस ९ वैशाख २०८३ ७:४९ | Wednesday, April 22, 2026
10
SHARES
कम्युनिस्ट एकता दिवसमा विष्णु रिजालका ३ प्रश्न

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपालका कम्युनिस्ट पार्टी यतिबेला इतिहासकै रक्षात्मक अवस्थामा पुगेका बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७७ औं स्थापना दिवशका अवसरमा बुधबार सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै रिजालले पार्टीलाई पहिलाकै अवस्थामा फर्काउन कम्तीमा तीनवटा प्रश्नको जवाफ खोज्नुपर्नेमा जोड दिएका छन्।

२०४६ सालयता नेकपा सबैभन्दा बढी रक्षात्मक, संकटग्रस्त र बहसको अवस्थामा पुगेको उनको भनाई छ। एमालेका चार र तत्कालिन माओवादीका दुईजना गरी छ जना प्रधानमन्त्री बनाइसकेको कम्युनिस्ट पार्टीले यसपटक प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियत पनि प्राप्त नगर्नु गम्भीर चिन्ताको विषय भएको रिजालको धारणा छ।उनले पार्टीलाई प्रतिकुलताबाट अनुकलतामा बदल्न कम्तीमा तीनवटा प्रश्नको जवाफ खोजेर सुधारको बाटोमा लैजानु पर्ने बताएका छन्।
शुभकामना!
आज नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस । देशभित्र राणाशासनका बेला भारत प्रबासमा पुष्पलाललको नेतृत्वमा ९तीन जना– नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द बैद्य र नारायणविलाश जोशीको उपस्थिति र एकजना– मोतीदेवी श्रेष्ठलाई मानिएको० स्थापित कम्युनिस्ट पार्टीले नेपालको राजनीतिक परिवर्तन, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानमा नेतृत्वदायी भूमिका र अतुलनीय योगदान गरेको छ।

०४६ मा बहुदलीय व्यवस्था स्थापनायताको कुरा हेर्दा आज नेपालमा कम्युनिस्ट पार्टी सबैभन्दा बढी रक्षात्मक, संकटग्रस्त र बहसको अवस्थामा पुगेको छ । जनमत आधाले घटेको छ, ६ जना प्रधानमन्त्री जन्माइसकेको पार्टी आजा प्रतिनिधिसभामा प्रमुख विपक्षीको हैसियतमा पनि छैन । यस गम्भीर परिस्थितिलाई चिरेर अनुकूलतामा बदल्न तीनवटा प्रश्नको जवाफ आजको दिनमा खोज्नैपर्दछः

१. के हामी पुरानै चिन्तन, पराजित मनोविज्ञान, असैद्धान्तिक कार्यनीति, भद्दा कमिटी, अव्यवस्थित संगठन प्रणाली र मबाट सुरु भएर ममै अन्त्य हुने कार्यशैलीकै आधारमा रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई फेरि उठाएर पहिलेकै अवस्थामा पुर्याउन सक्छौँ?

२. के हामी पार्टीमा आमूल सुधार, परिवर्तन र परिमार्जनका लागि आ–आफ्नो तहबाट त्याग र योगदान गर्न तयार छौँ? हाल गुमाउनका लागि हातमा केही नभएकाले कम्तीमा उधारोमै भए पनि के हामी त्यस्तो घोषणा गरेर आशाको नयाँ सञ्चार गर्न सक्छौँ?

३. के हामी आफ्ना एजेन्डालाई परिमार्जन गरेर परम्परागत जडताबाट मुक्त हुँदै आजको युवा पुस्ता (जेनजी) ले सुन्न, बुझ्न, रुचाउन र अँगाल्न सक्ने पार्टीका रुपमा कम्युनिस्ट पार्टीलाई विकास गर्न सक्छौँ?

चिन्ता मात्र होइन, चिन्तन गरौँ । धेरै बिग्रिसकेको छ, केही अझै बचाउन सकिन्छ। किनकि, कम्युनिस्ट दर्शनले भन्दछ– विनाश वा विकासका लागि आन्तरिक कारण प्रधान हुन्छ। दोष अरुतिर मात्रै फर्काएर समस्याबाट मुक्त भयौँ भन्दा यसभन्दा ठूलो दुर्घटनाले प्रतीक्षा गरेको हुन्छ।

 

प्रकाशित: ९ वैशाख २०८३ ७:४९ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast