काठमाडौँ- थापाथलीमा बसोबास गरिरहेका सुकुम्बासी बस्तीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। अतिक्रमण खाली गराइएपछि थापाथली क्षेत्रका ६८ परिवार सरकारको सम्पर्कमा आएका हुन्।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सम्पर्कमा आएका र अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको बताएका छन्।
सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण संकलन गरी काठमाडौँका विभिन्न होटलहरूमा राख्ने तयारी रहेको उनले जानकारी दिए। हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ। अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबाबाट सुरु गरिने सरकारले जनाएको छ।
वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ। त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने रसरकारको भनाइ छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदनअनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन्।
तीमधये काठमाडौँ महानगरभित्र २ हजार २४५ घुरधुरी छन् भने कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बासोबासी छन्।
तीन वर्षको अन्तरालमा केही घर थपिएको हुनसक्ने भएकाले काठमाडौँ उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको सरकारको अनुमान छ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन्। यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको सरकारको भनाइ छ।
काठमाडौँ उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी रहेको सरकारले जनाएको छ।
यस क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर ११ थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी रहेको सरकारले जनाएको छ।
यसैगरी कागेश्वरी महानगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेको अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ।




