घडियाल गोहीका १९५ अण्डा संकलन

हिमाल प्रेस १४ वैशाख २०८३ १७:५३ | Monday, April 27, 2026
4
SHARES
घडियाल गोहीका १९५ अण्डा संकलन फाइल तस्बिर।

चितवन- राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट अण्डा संकलन गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार सात गुँडबाट एक सय ९५ वटा अण्डा संकलन गरिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानवीय र वन्यजन्तुको खतरा भएका गुँडबाट अण्डा संकलन गर्ने गरिन्छ। गत वर्ष राप्ती नदीमा १८ वटा गुँड भेटिएकामा तीबाट दुई सय ३२ वटा अण्डा निकालिएको उनले जानकारी दिए।

सूचना अधिकारी थापामगरले भने, ‘जोखिम क्षेत्रमा रहेका गुँडबाट मात्रै अण्डा सङ्कलन गरिएको हो। सुरक्षित स्थानमा रहेका गुँडका अण्डालाई प्रकृतिमा नै छोडिएको छ। सङ्कलित अण्डा कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिएको छ।’

गोही प्रजनन केन्द्रमा हरेक वर्ष संकलन गरी ल्याइएका अण्डालाई कोरलेर पाँच वर्ष पुगेका गोहीलाई नदीमा छाड्ने गरिन्छ। अघिल्ला वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोजिएको सूचना अधिकारी थापामगरले बताए।

प्रकाशित: १४ वैशाख २०८३ १७:५३ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast