काठमाडौँ– राष्ट्रदेव भगवान् पशुपतिनाथ र पाशुपत क्षेत्रको आध्यात्मिक महिमालाई उजागर गर्ने उद्देश्यका साथ आगामी चैत १६ गतेदेखि ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा-२०८२’ आयोजना हुने भएको छ। महेश सन्न्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलका अध्यक्ष स्वामी रमणानन्द गिरिको संकल्पमा उक्त पदयात्रा हुन लागेको हो।
ललितपुरको जाउलाखेलस्थित सत्संग भवनमा बिहीबार आयोजित ‘पशुपतितत्त्व विमर्श तथा बृहत् पाशुपत परिक्रमा’ विषयक विद्वत्संगोष्ठीमा यसबारे जानकारी दिइएको हो।
पदयात्राको कार्यतालिका र मार्ग
आयोजक समितिका सचिव श्यामकृष्ण सुवेदीका अनुसार पदयात्राको औपचारिक थालनी चैत १५ गते पशुपति शंकराचार्य मठमा विशेष पूजन र बागमती आरतीसँगै हुनेछ।
प्रारम्भ : चैत १६ गते पशुपति क्षेत्रबाट।
प्रमुख गन्तव्य : आदिलिंग कुशेश्वर महादेव (सिन्धुली), दोलखा भीमेश्वर, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रे र जनकपुर।
अवधि : ३५ देखि ३६ दिन।
विशेषता : चौँसट्ठी (६४) सिद्धलिङ्गको पदयात्राबाटै दर्शन।
आध्यात्मिक जागरण र क्षमायाचना
कार्यक्रममा स्वामी रमणानन्द गिरिले मानवीय क्रियाकलापका कारण प्रदूषित बनेको बागमती र बिग्रँदो वातावरणीय मर्यादाप्रति भगवान् पशुपतिनाथसँग क्षमायाचना गर्न यो यात्रा महत्त्वपूर्ण हुने बताए। उनले भने, ‘यो पदयात्राले सुषुप्त अवस्थामा रहेका नेपालीलाई स्वधर्म र स्वपहिचानप्रति जागरुक बनाउनेछ।’

शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले पशुपतितत्त्वलाई युवा पुस्ताले बुझ्ने गरी व्याख्या गर्नुपर्नेमा जोड दिँदै यसलाई धार्मिक पर्यटन प्रवर्द्धनको माध्यम बनाउन सरकारले अभिभावकत्व लिनुपर्ने धारणा राखे।
मूल आयोजक समितिको अपिल
पदयात्रालाई भव्य रूपमा सम्पन्न गर्न आचार्य कपिलदेव सुवेदीको संयोजकत्वमा ‘मूल आयोजना समिति’ र विभिन्न उपसमितिहरू गठन गरिएको छ। संयोजक सुवेदीले हिमवत्खण्ड र मानसखण्ड पुराणमा वर्णित पशुपतितत्त्वको महिमा चर्चा गर्दै नेपाल ‘पशुपतिनाथको देश’ हुनुको औचित्य पुष्टि गरे।
विद्वत्संगोष्ठीमा प्राध्यापक भवानीप्रसाद खतिवडा, डा. रामप्रसाद पौडेल, डा. वैकुण्ठ घिमिरे र अनुसन्धाता श्यामकृष्ण सुवेदीलगायतले पाशुपत क्षेत्रको अनुसन्धान र आध्यात्मिक शुद्धताका बारेमा मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरेले गरेका थिए।
आयोजकले ऐतिहासिक यात्रामा देशभरका श्रद्धालु, साधुसन्त र स्थानीय जनसमुदायलाई आआफ्नो स्थानबाट सहयोग र सहभागिता जनाउन आह्वान गरेको छ। आफ्नो अनुकूलता र क्षमताअनुसार यस पदयात्रामा पूर्ण वा अर्ध समयका लागि अथवा कुनै पायक पर्ने तीर्थस्थलसम्म सहभागी भई यस आध्यात्मिक अभियानलाई सार्थक बनाउन आयोजकले आग्रह गरेको छ।
साथै आयोजकले पदयात्रा आफ्ना क्षेत्रमा आइपुग्दा पदयात्री, साधु-महात्मा तथा भक्तजनहरूको स्वागतसत्कार एवं बसोबास व्यवस्थापनमा सक्रिय सहयोग पुर्याउन स्थानीय संघसंस्था र सर्वसाधारणमा अपिल गरेको छ।
‘यस धार्मिक महोत्सवलाई सफल पार्न काय, वाचा, मन र गच्छेअनुसारको दानले सहयोग गर्दै पशुपतितत्त्व र पाशुपत सभ्यताको जगेर्ना गर्न युवा वर्गको ऊर्जाशील सहभागिताका लागि विशेष आग्रह गर्दछौँ’, आयोजकले भनेको छ।
परिक्रमाका क्रममा १० जिल्लामा अवस्थित महादेवका सिद्धस्थल तथा ६४ ज्योतिर्लिंगको दर्शन तथा खोजअनुसन्धान गरिनेछ।
यसैबीच पाँचहप्ते राष्ट्रव्यापी बृहत्पा–पाशुपत परिक्रमा (६४ सिद्धस्थल पैदलयात्रा) का बारेमा जानकारी दिलाउने उद्देश्यले बृहत् पाशुपत पदयात्रा २०८२ मूल आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी गराउने भएको छ। पत्रकार सम्मेलन शनिबार दिउँसो १ बजे सत्संगभवन, जाउलाखेलमा गर्न लागिएको आयोजकले जनाएका छन्।
यी हुन् ६४ सिद्धलिंग
१. कुशेश्वर महादेव, दुम्जा, सिन्धुली
२. भीमेश्वर महादेव, दोलखा
३. काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक
४. कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक
५. स्फटिकेश्वर महादेव, फटकशिला, सिन्धुपाल्चोक
६. चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
७. धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
८. विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक
९. इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक
१०. भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक
११. गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर
१२. तिलेश्वर महादेव, लेले, ललितपुर
१३. चम्पकेश्वर महादेव, लेले, ललितपुर
१४. रामेश्वर महादेव, टीकाभैरव, ललितपुर
१५. कालेश्वर महादेव, गोटीखेल, ललितपुर
१६. नटारम्भेश्वर महादेव, ठिङ्गन, मकवानपुर
१७. उद्दालकेश्वर महादेव, छैमले, काठमाडौँ
१८. गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौँ
१९. चम्पेश्वर महादेव, विसखेल, मकवानपुर
२०. उन्मत्तेश्वर महादेव, टिष्टुङ, मकवानपुर
२१. नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर
२२. गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर
२३. पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर
२४. कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर
२५. असितेश्वर महादेव, अम्लेश्वर, धादिङ
२६. भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट
२७. ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट
२८. कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट
२९. शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौँ
३०. काकेश्वर महादेव, गागलफेदी, काठमाडौँ
३१. मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौँ
३२. योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौँ
३३. नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौँ
३४. ज्योतिर्लिङ्गेश्वर, साँखु, काठमाडौँ
३५. रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर
३६. वागीश्वर महादेव, वागीश्वर, भक्तपुर
३७. कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर
३८. वाल्मीकेश्वर महादेव, भक्तपुर
३९. मङ्गलेश्वर महादेव, उलाछें, भक्तपुर
४०. विमलेश्वर महादेव सिपाडोल, भक्तपुर
४१. अनन्तलिङ्गेश्वर महादेव, भक्तपुर
४२. विश्वरूपेश्वर महादेव, भक्तपुर
४३. सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर
४४. गोभराटेश्वर महादेव, लुभु, ललितपुर
४५. भृङ्गेश्वर महादेव, सुनाकोठी ललितपुर
४६. त्रिलिङ्गेश्वर महादेव, पाटन, ललितपुर
४७. कुपितेश्वर महादेव, पाटन, ललितपुर
४८. सर्वेश्वर महादेव, पाटन, ललितपुर
४९. गोलोकेश्वर महादेव, नैकाप, काठमाडौँ
५०. चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौँ
५१. यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौँ
५२. चण्डिकेश्वर महादेव, टोखा, काठमाडौँ
५३. धर्मेश्वर महादेव, टोखा, काठमाडौँ
५४. गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौँ
५५. कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौँ
५६. वाणेश्वर महादेव, बानेश्वर, काठमाडौँ
५७. ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौँ
५८. पर्वतेश्वर महादेव, पशुपति, काठमाडौँ
५९. जलेश्वर महादेव, पशुपति, काठमाडौँ
६०. गुह्येश्वर महादेव, गुल्येश्वरी, काठमाडौँ
६१. किरातेश्वर महादेव, मृगस्थली, काठमाडौँ
६२. भस्मेश्वर महादेव, पशुपति, काठमाडौँ
६३. भुवनेश्वर महादेव, पशुपति, काठमाडौँ
६४. रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौँ



