पुस्तक चर्चा

रजनीको ‘विस्मृति’मा मानवीय सम्बन्ध र डायस्पोराको जीवन्त चित्रण

गणेश तिमिल्सिना १६ फागुन २०८२ १६:१९ | Saturday, February 28, 2026
146
SHARES
रजनीको ‘विस्मृति’मा मानवीय सम्बन्ध र डायस्पोराको जीवन्त चित्रण

साहित्य र अध्यात्मको एउटा अनौठो सङ्गमका बिच लेखिका रजनी श्रेष्ठको नवीनतम सिर्जना ‘विस्मृति’ कथासङ्ग्रह सार्वजनिक भएको छ। काठमाडौँको ढुङ्गेधारास्थित अनन्तधाराधाम सत्सङ्गभवनमा आयोजित सो लोकार्पण-समारोह परम्परागत साहित्यिक माहोलभन्दा निकै पृथक् र शालीन देखिन्थ्यो। कोलाहलपूर्ण समीक्षा र तडकभडकभन्दा टाढा रहेर पुस्तक विमोचन गर्दा त्यहाँको वातावरण कुनै आध्यात्मिक उत्सवजस्तै शान्त र श्रद्धापूर्ण बनेको थियो।

संस्कृतका अभियन्ता एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आचार्य रोहिणीराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अनन्तधाराधामका अध्यक्ष पण्डित मधुसूदन सुवेदीको विशिष्ट उपस्थिति थियो। सामान्यतया पुस्तक-लोकार्पणमा पाठक र समालोचकहरूको बहुलता हुने गरेको भए तापनि यसपटक भने सत्सङ्गी साधक, भक्तहरूको उल्लेख्य सहभागिताले कार्यक्रममा छुट्टै रौनक थपेको थियो।

प्रमुख अतिथि आचार्य रोहिणीराज तिमिल्सिना, विशिष्ट अतिथि पण्डित मधुसूदन सुवेदी र अतिथि सफला श्रेष्ठको हातबाट विमोचित गर्दै कृतिलाई पाठकमाझ सुम्पिएको थियो।

साधुभाव र निष्ठाको सुगन्ध भरिएको उक्त समारोहको व्यवस्थापन र सञ्चालन अनन्तधारा-धामका उपाध्यक्ष मुरारि सुवेदीले गरेका थिए। साहित्यलाई साहित्यिकहरूका माझमा मात्र सीमित नराखी जीवनदर्शन र साधनाको सभाकक्षमा प्रस्तुत गरिएको यस लोकार्पण-समारोहले उपस्थित सबैमा एक प्रकारको दिव्य सन्देश प्रवाह गरिरहेको अनुभव हुन्थ्यो।

काठमाडौँको वटुटोलमा आफ्नो बाल्यकालका स्मृतिहरू सँगाल्दै, वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेर नेपाल राष्ट्र बैंकजस्तो गरिमामय संस्थामा लामो समय व्यावसायिक अनुभव बटुलेकी कथाकार रजनी श्रेष्ठको पछिल्लो कथाकृति ‘विस्मृति’ नेपाली आख्यान जगत्‌मा एउटा विशिष्ट उपहारका रूपमा आएको छ।

हाल अमेरिकाको भर्जिनियास्थित आर्लिंग्टन लाइब्रेरीमा कार्यरत रहँदै विश्वको विपुल ग्रन्थागारमा आफूलाई समाहित गराएकी श्रेष्ठको यस कृतिमा ज्ञानको गाम्भीर्य र अनुभवको परिपक्वता स्पष्ट रूपमा प्रतिबिम्बित भएको पाइन्छ।

त्रिचन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक हरि घिमिरे, कृतिका सम्पादक त्रिविका उपप्राध्यापक आचार्य रोहिणीराज तिमिल्सिना र अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीजस्ता विशिष्ट समालोचकहरूको समीक्षात्मक मन्तव्यसमेत समेटिएको यो कृति नेपाली डायस्पोराको क्षितिजमा शब्दको कुशल शिल्पकारिताको नमुना बन्ने देखिन्छ।

प्रस्तुत कथा-सङ्ग्रहमा रहेका चालीसवटा कथाहरूले मनोरञ्जनमात्र प्रदान गर्दैनन्, बरु प्रवासको मौनताभित्र गुन्जने आत्मिक सङ्घर्षका कोलाजहरूलाई पाठकका सामु जीवन्त तुल्याउँछन्। कृतिको शीर्षक ‘विस्मृति’ आफैँमा प्रतीकात्मक र बहुआयामिक छ। यसले अल्जाइमरजस्तो शारीरिक रोगका कारण हुने स्मृतिक्षयलाई मात्र सङ्केत गरेको छैन, बरु आधुनिक समाजले बिर्सँदै गएको नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र पारिवारिक आत्मीयतालाई पनि कटाक्ष गरेको छ।

‘विस्मृति’ कथामा सुरेशले आफ्नी स्मृतिविहीन पत्नीको सेवामा गरेको प्रेमतपस्याले मानवीय संवेदनाको उच्चतम रूप प्रस्तुत गर्दा ‘परिस्थिति’, ‘वृद्धाश्रम’ र ‘अल्झिएको जीवन’जस्ता कथाहरूले सन्तानले आफ्ना जन्मदाताप्रतिको कर्तव्य बिर्सिएको कठोर सामाजिक यथार्थलाई पनि उजागर गरेका छन्। यो सङ्ग्रहले पाठकलाई गम्भीर प्रश्न गर्छ कि- के हामीले भौतिक प्रगतिको दौडमा आफ्नो सांस्कृतिक जरा र संस्कारलाई विस्मृतिको गर्तमा त धकेलिरहेका छैनौँ?

कथाकार श्रेष्ठका कथाहरूमा डायस्पोराको जटिल भूगोल र मानिसको भित्री मनको नक्सा कुशलतापूर्वक खिचिएको छ। ‘परदेश’ कथामा समुज्ज्वल भविष्य खोज्दै जाँदा ज्यान गुमाउनुपर्ने राजीवको त्रासदी होस् वा ‘विश्वास’ र ‘किन यस्तो हुन्छ?’ मा देखाइएको वैदेशिक धनको प्रलोभनले निम्त्याएको वैवाहिक विखण्डन, यी सबैले प्रवासको चम्किलो संसारभित्र लुकेका अँध्यारा पाटालाई निर्मम ढङ्गले केलाएका छन्।

अर्थशास्त्रीय पेसाको वस्तुनिष्ठ संसारबाट साहित्यको अमूर्त भावभूमिमा श्रेष्ठको यो संक्रमण निकै अर्थपूर्ण देखिन्छ। उनका पात्रहरू हाम्रै समाजका प्रतिनिधि हुन्, जसले कहिले सम्पत्तिको लोभमा राम-लक्ष्मणजस्तै दाजुभाइ झगडा गर्छन् त कहिले ‘आभास’ जस्तो परिस्थितिमा मानवीय सम्बन्धको निर्धोपन देखाउँछन्। यद्यपि ‘पसिनाको मूल्य’ र ‘आत्मसन्तोष’जस्ता कथाहरूले निःस्वार्थ प्रेम र त्यागको महत्त्वलाई पनि उत्तिकै सशक्त ढङ्गले स्थापित गरेका छन्।

नारी-चेतना र अस्तित्वको सङ्घर्ष श्रेष्ठको यस कृतिको अर्को सबल पक्ष हो। उनले परम्परागत पितृसत्तात्मक समाजको थिचोमिचोदेखि आधुनिक नारीको स्वाभिमान र विद्रोहसम्मलाई कथाको विषय बनाएकी छन्। ‘नारीभावना’की उषाले पतिको विश्वासघातपछि गरेको विद्रोह र ‘भगवती देवी’मा देखाइएको शिक्षाप्रतिको जागरणले नारी-शक्तिको पुनरुत्थानको गाथा गाउँछन्। साथै नेपाली कथासाहित्यमा विरलै पाइने ‘पीडित पुरुषपात्र’ (Victimized Male Characters) को चित्रणले यो कृतिलाई अझ विशेष बनाएको छ। इमानदार भएर पनि वैदेशिक मोह र विश्वासघातको सिकार भएका रमेश र उमेशजस्ता पात्रहरूको मनोदशाले पाठकको हृदय पगाल्छ।

सरल, सुबोध र प्रवाहमय भाषाशैलीका माध्यमबाट श्रेष्ठले नेपाली गाउँबेसीदेखि पश्चिमी मुलुकका उच्च-मध्यमवर्गीय परिवेशसम्मको हुबहु चित्र उतारेकी छन्। समग्रमा ‘विस्मृति’ समकालीन नेपाली साहित्यको एउटा उल्लेखनीय प्रस्तुति हो, जसले हामीलाई आफ्नै जीवन र सम्बन्धहरूको पुनर्मूल्याङ्कन गर्नेतर्फ प्रेरित गर्दछ। यस कृतिलाई रवीन्द्रभक्त श्रेष्ठले प्रकाशनमा ल्याएका हुन् भने यसमा पृष्ठ २०८ छन् र मूल्य ने.रू. ३५० राखिएको छ।

प्रकाशित: १६ फागुन २०८२ १६:१९ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast