काठमाडौँ- राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत भन्सार नाकामा कडाइ गर्न थालेको छ। सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएका र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि यहाँ कडाइ गरिएको हो।
यहाँ सशस्त्र प्रहरी बलले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवललगायत सीमा नाकामा रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन आग्रह गरिरहेको छ। भन्सार महसुल नुबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम पनि भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीले बताए। गृह मन्त्रालयको निर्देशनअनुसार राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको उनले बताए।
सीमानाकाबाट हुने अवैध आयात र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले देशैभरका नाकामा झापामा जस्तै निगरानी बढाइरहेको जनाइएको छ । रासस




