टिकट वितरण गर्न कांग्रेसमा जुटेन सहमति, देउवाको सचिवालयले भन्यो- रिट फिर्ता लिने हल्ला भ्रामक

हिमाल प्रेस ५ माघ २०८२ २०:५३ | Monday, January 19, 2026
112
SHARES
टिकट वितरण गर्न कांग्रेसमा जुटेन सहमति, देउवाको सचिवालयले भन्यो- रिट फिर्ता लिने हल्ला भ्रामक

काठमाडौँ- फागुन २१ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्न केही घन्टामात्रै बाँकी रहँदा समेत नेपाली कांग्रेसले टिकट वितरणलाई टुंगोमा पु¥याउन सकेको छैन।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालापक्षबीच सहमति जुट्न नसकेपछि टिकट वितरण टुंगोमा पुग्न नसकेको हो।

सहमतिका प्रयासहरू भए पनि टिकट वितरणका लागि तीनै पक्षबीच सहमति जुट्न नसकेको नेताहरूले बताएका छन्। सर्वोच्च अदालतमा दायर रिट फिर्ता लिने सर्तमा टिकट वितरण प्रक्रियामा थापा समूहले देउवा पक्षलाई पनि सामेल गराउने चर्चा चले पनि यो सत्य नभएको बताइएको छ। देउवा पक्षका नेताहरूले रिट फिर्ता लिने विषयमा सहमति नजुटेको बताएका छन्।

देउवाको सचिवालयले रिट फिर्ता लिने हल्ला भ्रामक रहेको बताएको छ। ‘नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिने भन्ने गलत र भ्रामक समाचार केही संचार माध्यामहरुमा प्रकाशित भएकोमा हाम्रो गम्भिर ध्यानकर्षण भएको छ। उक्त रिट निवेदन फिर्ता नहुने र अदालतबाट निस्पक्ष न्याय सम्पादन हुनेमा नेपाली कांग्रेस अपेक्षित छ।साथै यस्ता गलत समाचारहरु प्रकाशन/प्रसारण नगरिदिनुहुन पनि सबै सञ्चारमाध्यामहरुलाई अनुरोध गर्दछु,’ देउावाको सचिवालयले भनेको छ।

यता देउवा र कोइराला पक्षका असहमतिका बीच कतिपय जिल्लामा टिकट वितरण गरिएको बताइएको छ। विशेषतः पहाडी तथा हिमाली जिल्लाका उम्मेदवारहरूले टिकट पाएको नेताहरूले जनाएका छन्।
देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालाले भने टिकट वितरणबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्।

नेपाली कांग्रेस देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले टिकट वितरण प्रक्रियामा आफू सहभागी नहरेको बताएका छन्।

मिलेर चुनाव लड्ने सन्दर्भमा देउवा, गगन र शेखरपक्षबीच सहमति भएको चर्चा सुरू भएका बेला खड्काले यस्तो बताएका हुन्।उनले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको टिकट वितरणको सम्बन्धमा कुनै बैठकमा सहभागी नभएको उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रका उम्मेदवारको टिकट वितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रक्रियामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारीसमेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहन्छु! कसैमा भ्रम नरहोस्,’ खड्काले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

त्यस्तै उनले सर्वोच्च अदालतमा दायर रिट फिर्ता हुने निर्णयसमेत नभएको प्रस्ट पारेका छन्। विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध दायर रिट फिर्ता नहुने खड्काले बताएका हुन्।

‘…कांग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अवैधानिक निर्णयका विरूद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिका लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्णरूपमा असत्य भएको म स्पष्ट पार्न चाहन्छु,’ उनले भनेका छन्।

विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई अवैधानिक भन्दै कांग्रेस देउवा पक्षले २ माघमा सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। रिटमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकिएको छ।

यसअघि नेता कोइरालाको सचिवालयले पनि पार्टी सभापति गगन थापासँग मिलेर जाने भन्ने कुरामा सत्यता नरहेको बताएको थियो। विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि नेता कोइरालासँग सम्पर्क नगरेको समेत उनको सचिवालयले जनाएको थियो।

‘जहाँसम्म डा।शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन,’ डा।कोइरालाको सचिवालयले भनेको छ,‘आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै माध्यमबाट डा।शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नु भएको छैन।’

फागुन २१ का लागि पार्टीका तर्फबाट बाँडिने टिकको मापदण्डबारे समेत उनलाई जानकारी नरहेको सचिवालयको भनाइ छ। ‘देशभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागेको छ। तर, कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन,’ सचिवालयले भनेको छ।

प्रकाशित: ५ माघ २०८२ २०:५३ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast