काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयको भौतिक अवस्थाको विवरण अद्यावधिक गर्ने समयसीमा थप गरेको छ।
केन्द्रले भौतिक पूर्वाधार निर्माण गुरुयोजना तयारीका लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विवरण अद्यावधिक गर्न म्याद आगामी भदौ २५ सम्म लम्ब्याएको हो। यसअघि भदौ १५ भित्र विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको थियो।
उच्चस्तरीय कार्यदलको भदौ १५ गतेको निर्णयअनुसार म्याद थप गरिएको केन्द्रले जनाएको छ। हालसम्म विवरण अद्यावधिक गरिसकेका र अझै नगरेका विद्यालयको विवरणसमेत संलग्न गरिएको जानकारी दिइएको छ।
निर्देशक हरि प्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा विद्यालयहरूले तोकिएको म्यादभित्र विवरण अद्यावधिक गरी प्रमाणित गरेर केन्द्रको इमेल (cehrd.ss@gmail.com) मा पठाउन आग्रह गरिएको छ।
यसका लागि सातै प्रदेशका शिक्षा मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न निर्देशन दिइएको छ।




