कुलमान बर्खास्तपछि कांग्रेसले भन्यो- सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन

हिमाल प्रेस ११ चैत २०८१ २२:२३
110
SHARES
कुलमान बर्खास्तपछि कांग्रेसले भन्यो- सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन

काठमाडौँ- नेपाली कांग्रेसले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयमा विमति जनाएको छ। कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा थापाले सोमबार सामाजिक सञ्जालमार्फत विमति जनाएका हुन्।

महामन्त्री शर्माले घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको पनि स्पष्ट पारेका छन्। उनले बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको उनको भनाइ छ।

शर्माले लेखेका छन्, ‘कारबाहीयोग्य केही भए, पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो। सरकारको यो निर्णय समयोचित बिल्कुलै भएन। यसप्रति खुला र प्रस्ट रूपमा विमति छ।’ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

यसैगरी अर्का महामन्त्री थापाले आमनागरिकमा असन्तुष्टि बढिरहेका बेला एउटा तप्का स्वार्थको रोटी सेक्न सलबलाइरहेका बेला सरकारले गलत निर्णय गरेको भन्दै विमति प्रकट गरेका छन्।

‘यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकारचाहिँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?’ महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले भनेका छन्, ‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?’ मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नुपर्नेमा त्यसतो नभएको भनाइ महामन्त्री थापाको छ। उनले लेखेका छन्, ‘निर्णय गलत छ, सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’

प्रकाशित: ११ चैत २०८१ २२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast