
काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दीको विवरण सम्बन्धमा सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ। केन्द्रले बुधबार पत्र पठाउँदै रिक्त शिक्षक दरबन्दी विवरण आगामी सात दिनभित्र पठाउन अनुरोध गरेको हाे।
केन्द्रले जारी गरेको निर्देशनमा नवलपरासी पश्चिम, मुगु र जाजरकोटका शिक्षा विकास तथा समन्वय एकाइहरूले रिक्त विवरण पठाउन अबिलम्ब प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, पहिले पठाइएको विवरणमा कुनै संशोधन आवश्यक परेमा त्यसका कारणसहित पुनः सात दिनभित्र जानकारी पठाउन आग्रह गरिएको छ। स्वीकृत दरबन्दीका सबै रिक्त पद (करार शिक्षक कार्यरत रहेको समेत) अनिवार्य रुपमा खुलाई पठाउन पठाउन पर्नेछ।
खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरूले रिक्त विवरण नपठाउन तथा सो पदमा कुनै पनि व्यहोराले पदपूर्ति नगर्न नगराउन खुद पुल दरबन्दी व्यवस्थापनका लागि कट्टा गरिने दरबन्दी विवरण अविलम्ब उपलब्ध गराउन पनि केन्द्रले आग्रह गरेको छ।
आयोगको विज्ञापनका लागि पठाइएका रिक्त दरबन्दीमा आयोगको सिफारिस बाहेक अन्य कुनै व्यहोराले स्थायी पदपूर्ति नगर्न निर्देशन दिइएको छ। केन्द्रले यी सबै विवरण [email protected] इमेलमा पठाउन आग्रह गरेको छ।