आईपीएल २०२५ : दस टिममा ९ भारतीय कप्तान

हिमाल प्रेस ५ चैत २०८१ ८:२६
32
SHARES
आईपीएल २०२५ : दस टिममा ९ भारतीय कप्तान

काठमाडौँ- सन् २००८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएयता अधिकांश टिमका कप्तान विदेशी खेलाडी रहे। २००८ मा ‘आइकन’ खेलाडीको सुरुवात भएको थियो। जसमा भारतीय खेलाडी हुन्थे। त्यो प्रथा पनि विस्तारै अन्त्य भयो।

पछिल्लो केही वर्षदेखि विदेशी कप्तानबाट फ्रेन्चाइजहरूको मोह भंग भयो। र, आईपीएलको १८ औँ संस्करणसम्म आइपुग्दा परिस्थिति पूर्णरूपले फेरिएको छ।

आईपीएलको १८ औँ संस्करण सुरु हुन अब धेरै दिन बाँकी छैन। सबै टिम आगामी संस्करणका लागि कम्मर कस्सेर बसिरहेका छन्। आईपीएल–२०२५ आगामी २२ मार्चदेखि सुरू हुँदैछ।

आईपीएलको यो सिजनमा कूल पाँच टिम नयाँ कप्तानका साथ मैदानमा उत्रिनेछन्। सबै १० टिमका कप्तान तय भइसकेका छन्। दिल्ली क्यापिटल्सले पछिल्लो शुक्रबार स्पिन अलराउन्डर अक्षर पटेललाई टिमको नेतृत्व गर्ने जिम्मेवारी तोक्यो। योसँगै आईपीएलमा सहभागी हुने सबै दश टिमका कप्तान पक्का भए। दश टिममध्ये ९ भारतीय छन्।

एकमात्र विदेशी कप्तान हुने आईपीएल २०२५ पहिलो संस्करण हुनेछ। हैदराबादले अस्ट्रेलियाका पैट कमिन्सलाई कप्तान बनाएको छ। बाँकी सबै ९ टिमका कप्तान भारतीय हुनेछन्।

दिल्ली क्यापिटल्स, लखनऊ सुपर जायन्ट्स, पञ्जाब किंग्स, रोयल च्यालेन्जर्स बैंगलुरूरु र कोलकत्ता नाइट राइडर्स नयाँ कप्तानका साथ मैदानमा उत्रिनेछन्।

दिल्लीले अक्षर पटेल, लखनऊलले ऋषभ पन्त, पञ्जाबले श्रेयस अय्यर, बेंगलुरूले रजत पाटीदार र कोलकत्ताले अजिंक्य रहाणेलाई कप्तान बनाएको छ।

राजस्थान रोयल्सले सञ्जु सैमसन, मुम्बई इण्डियन्स्ले हार्दिक पाण्ड्या, गुजरात टाइटन्सले शुभमन गिल र चेन्नई सुपर किंग्सले ऋतुराज गायकवाडलाई कप्तान बनाएको छ। यी सबै यसअघि पनि यही टिमका नेतृत्व सम्हालिसकेका छन्। त्यस्तै एकमात्र विदेशी कप्तान रहेका कमिन्सले पनि यसअघि हैदराबादको नेतृत्व सम्हालेका थिए।

१८ औँ संस्करणको आरम्भ

आईपीएल २०२५ अर्थात् १८ औँ संस्करणको सुरूवात २२ मार्चदेखि हुनेछ। यसपालि भारतको १३ सहरमा आईपीएलअन्तर्गतका खेलहरू हुनेछन्। आईपीएल २०२५ को पहिलो म्याच कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरूबीच हुनेछ। आईपीएलको पहिलो खेल भारतीय समयअनुसार राति ७ : ३० बजे सुरू हुनेछ।

यसरी हुनेछ उद्घाटन

आईपीएल २०२५ को उद्घाटन खेल कोलकत्ताको ईडन गार्डन स्टेडियममा हुनेछ। उद्घाटन सत्रमा बलिवुडका चर्चित कलाकारहरूले प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ। यद्यपि प्रदर्शन गर्ने कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन।

आईपीएल २०२५ को उद्घाटन कार्यक्रम २२ मार्च साँझ ६ बजे सुरू हुनेछ।

प्रकाशित: ५ चैत २०८१ ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast