भारतले नेपालको गणतन्त्र नरुचाएकै हो त?

हिमाल प्रेस २६ फागुन २०८१ १३:१२
34
SHARES
भारतले नेपालको गणतन्त्र नरुचाएकै हो त?

काठमाडौँ– फागुन २५ गते पोखराबाट काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्नेको भीडमा उत्तर प्रदेशका मुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथको एउटा ब्यानर देखियो। यस्तो ब्यानरलाई लिएर सामाजिक सञ्जालमा अनेक खालका अडकलबाजी गरिए।

धेरैले के अनुमान गरे भने नेपालमा राजतन्त्र फर्काउन भारतीय संस्थापन पक्ष सक्रिय भएको छ। सत्तारूढ दलहरूले छिमेकी भारतलाई इंगित गरेर उसकै बलमा नेपालमा राजतन्त्र फर्काउन लागेको टिप्पणी पनि गरे। के साँच्चै भारतीय पक्षले नेपालको गणतन्त्र नरुचाएकै हो त?

भारतीय नेताहरूले भने नेपालको गणतन्त्र मासेर राजतन्त्रतर्फ भारत सरकार र जनताको नजर नरहेको सन्देश राजनीतिक दलहरूलाई दिएका छन्। भारतको बलमा नेपालमा राजतन्त्र फर्काउन लागेको टिप्पणी हुन थालेपछि भारतीय नेताहरूले त्यसको खण्डन गरेका हुन्। भारतीय पक्षबाट औपचारिक रूपमा यस्तो प्रतिक्रिया आएको भने होइन।

चिनेजानेका नेतामार्फत भारतीय नेताहरूले जबाफ पठाएको सत्तारूढ दलका एक नेताले जानकारी दिए। ती नेताले भने, ‘भारतीय सत्तारुढ दल र सरकारले कुनै पनि मुलुकको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दैन। आवश्यक परेमा सहजीकरण गर्ने मात्र हो। आमनागरिकले चयन गरेको गणतन्त्र मासेर अर्को शासनतर्फ भारत सरकार र जनताको नजर नरहेको स्पष्ट सन्देश राजनीतिक दलहरूलाई दिएको छ।’

नेपालबारे सोच्ने फुर्सद कुनै पनि विश्वको नेतालाई नहरहेको बुझाइ जानकारहरूको छ। भारतीय नेताहरूको सन्देश सुनाउँदै ती नेताले भने, ‘भारतलाई अरूको मुलुकमा सोच्ने फुर्सद छैन। यस्ता भ्रममा नलागी नेपाली नेता रोजगारी सिर्जना गर्ने, सुशासन कायम राख्ने, भ्रष्टहरूलाई कारबाहीको दायरामा ल्याउन लाग्नुपर्छ।’

ती नेताले राजनीतिक उच्च तहमा सम्पर्क सञ्जाल कमजोर हुँदा भारतसँग नेपाल पटकपटक भ्रममा पर्ने गरेको बताए। यस्तो विषयमा नाम बताउन नमिल्ने ती नेताले बताए। उनले भने, ‘भारतको रिजर्भेसन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र बोलीप्रति हो। आमनागरिकले चुनेको नेतृत्वलाई भारतले नजरअन्दाज गर्न सक्दैन।’

राजनीतिक दलहरू आफैँ निकम्मा भएका कारण राजावादी चलमलाएको आकलन भारतीय नेताहरूको छ। भारतीय जनता दल (बीजेपी) का केही नेताहरूले यस विषयमा ध्यान दिन आग्रह गरेका छन्।
भारतीय अधिकारीले नेताहरूलाई सन्देश प्रवाह गरेपछि प्रमुख दलका नेताहरू आफ्नो सम्पर्क सञ्जालमा रहेका भारतीयसँग छलफल गर्न थालेका छन्। नेताहरूका अनुसार भारतीयहरूले भन्ने गरेका छन्, ‘हामी अमेरिकासँगको सम्बन्ध र बंगलादेशको स्थायित्व अनि रूससँगको सम्बब्धमा केन्द्रित छौँ।’

राजावादीले आइतबार काठमाडौँमा बृहत् प्रदर्शन गरेपछि दलका नेताहरूले सुरक्षा निकायका प्रमुखहरूसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। सरकारले भने सामाजिक सञ्जालमा आएका विषयलाई लिएर गम्भीर निर्णय लिने तयारी गरेको छ। समानान्तर सरकार बनाउने, जे मन लाग्यो त्यो धारणा व्यक्त गर्नेलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको एकजना मन्त्रीले जानकारी दिए।
भारतीय नेताहरू नेपालमा राजनीतिक स्थायित्वका पक्षमा उभिएपछि राजनीतिक दलका नेताहरू बैठक बसेर अब कसरी अघि बढ्ने भन्ने निचोडमा पुग्ने भएका छन्।

नेपाली कांग्रेसले राजावादीको प्रदर्शनलाई सामान्य रूपमा लिएको छ। कांग्रेसका प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्मा भन्छन्, ‘हामीलाई त्यस्तो केही लागेको छैन। अहिले गतिविधि नियाल्ने काम भएको छ। ठूलो दलको नाताले कांग्रेसले छलफल त गर्छ नै तर हतारिनुपर्ने अवस्था छैन।’

नेपालमा राजतन्त्र फर्काउन भारत सक्रिय हुन थालेको हो भन्ने प्रश्नमा विश्वकर्माले भने, ‘हामीलाई भारत यस विषयमा लागेको जानकारी छैन। हाम्रो सम्पर्क सञ्जालमा भएका भारतीय नेताहरू नेपालमा स्थायित्वका पक्षमा छन्। आमनागरिकको चाहनाअनुरूप गणतन्त्र मास्ने योजना भारतले कहिल्यै बनाउँदैन।’

पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले नेता प्रदीपकुमार ज्ञवालीले आत्तिनुपर्ने अवस्था नभएको बताए। ‘भारतले नेपालका विषयमा सोच्न समेत भ्याउँदैन यतिबेला। किनभने भारतले अमेरिकासँगको सम्बन्धदेखि बंगलादेशको टाउको दुखाइ मिलाउनुपरेको छ,’ ज्ञवालीले भने, ‘उनीहरूलाई यताका बारेमा सोच्ने समय छैन। भारतीय चाहना स्थिर र बलियो छिमेकी हो।’

गणतन्त्रवादीहरूले लत्तो छोडेको अवस्थामा मात्रै समस्या हुन सक्ने बुझाइ ज्ञवालीको छ। उनले भने, ‘अन्यथा बाहिरबाट समस्या हुने अवस्थामा नेपाल छैन। एकदुई भारतीय नेताले चाहेका होलान्। त्यस्तो चाहनाले नेपालीले भोट दिएर आएको नेतृत्व विफल हुँदैन। भारत यसमा सचेत छ।’

एमालेका कतिपय नेताले भारतकै कारण नेपालमा राजतन्त्र फर्कन लागेको भनेपछि भारतीय पक्षले त्यसलाई भ्रामक भनेको छ। एमालेले भ्रमको खेती गरिरहेको भन्दै भारतले यसमा गम्भीर असहमति जनाएको अर्का एक नेताले बताए।

कतिपयले नेपालमा राजतन्त्र फर्काउन भारत, अमेरिका, रुस र चीन लागेको भनेर भ्रम फैलाइरहेको नेताहरू बताउँछन्। राजनीतिक दलका एक नेताले भने, ‘नेपालबारेमा सोच्ने फुर्सद विश्वका कुनै नेतालाई छैन। भारतलाई झनै छैन।’

पूर्वराजा ज्ञानेन्द्र उत्साहित भएर प्लेन चार्टर्ड गरेर पोखराबाट काठमाडौँ फर्कनु र अनि केही ब्यानरमा योगी आदित्य नाथको तस्बिर राख्नु संयोग मात्रै रहेको बुझाइ सुरक्षा अंगहरूको छ। एक सैन्य अधिकारीले भने, ‘यी सबै कुरा मिलेको भनेर बुझनु गलत हुन्छ।’

नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रे नेपालमा राजतन्त्र पुनर्स्थापना  हुनेमा शंका व्यक्त गर्छन्।

नेपालमा राजतन्त्र फर्कन सक्छ भन्ने बीबीसीको प्रश्नमा उनले भने, ‘नेपालमा निराशा त छ। जनताको अपेक्षामा सरकारहरू खरा उत्रन सकेनन्। यस निराशाबाट नेपालका जनताले राजतन्त्रलाई पुनर्स्थापित गर्छन् भन्ने कुरामा मलाई शंका छ। राजतन्त्रको समर्थनमा अहिले त्यति धेरै मानिस छैनन्।’

यसैगरी परराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्य पनि नेपालमा राजतन्त्र फर्कने विश्वास गर्दैनन्। उनले नेपाली जनता प्रजा नबनेर नागरिक नै बन्न चाहने बताए।

आचार्यले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अरू त भन्न सकिन्न! ‘नागरिक’ रहने कि ‘प्रजा हुने भनेर जनमत संकलन गर्ने हो भने अधिकांशले नागरिक नै रहने भन्लान्।’

प्रकाशित: २६ फागुन २०८१ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast