अन्तर्राष्ट्रिय सम्बन्धमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन : बाबुराम भट्टराई

हिमाल प्रेस १९ फागुन २०८१ ५:५६
168
SHARES
अन्तर्राष्ट्रिय सम्बन्धमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन : बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय सम्बन्धमा कोही कसैको स्थायी मित्र वा शत्रु नहुने र कसैको उक्साहट र आवेगमा होइन दीर्घकालीन हित र शक्ति सन्तुलनको आँकलन गरेर सबैसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार भएको भेटवार्ताको नोंकझोक र अमेरिकाले देखाएको व्यवहारपछि वर्तमान विश्वको संकट र सम्भावनाबारे एक्समा टिप्पणी गर्दै डा.भट्टराईले सो कुरा बताएका हुन्।

उनका अनुसार युक्रेन र मध्यपूर्वलगायतका घटनाहरूले यससमयमा आउने जटिल परिस्थितिहरू र चुनौतीहरूको संकेत गरिरहेका छन्। डा.भट्टराईले प्रसिद्ध चिन्तक र प्राध्यापक प्रा.जेफ्री साक्सको उत्कृष्ट विश्लेषणलाई उद्धृत गर्दै भने, ‘यसको अध्ययन सबै गम्भीर पाठक र नीतिनिर्माताहरूले गर्नुपर्छ, अन्यथा पछुताउनु पर्ला।’

उनको भनाइमा प्रा.साक्सको विश्लेषणले आजको युगका जटिल र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको गहिरो मूल्यांकन गरेको छ। उनले भनेका छन्, ‘युक्रेनको घटनाबाट पुनः एकपटक प्रष्ट भएको छ, अन्तर्राष्ट्रिय सम्बन्धमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन र आआफ्नो राष्ट्रिय स्वार्थ नै अन्ततः निर्णायक हुन्छ।’

यससँगै डा.भट्टराईले नेपाल जस्तो देशले दीर्घकालीन हित र शक्तिसन्तुलनको आँकलन गरेर कुनै पनि देशले स्थायी मित्रता वा शत्रुताका बजाय सन्तुलित र विवेकपूर्ण सम्बन्ध राख्नुपर्ने बताएका छन्। उनले यसमा नेपालको आफ्नै स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्नको लागि सही नीति चयन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले एक्समा लेखेका छन्, ‘नेपाल जस्ता ठूला शक्ति केन्द्रहरूको साँधमा रहेका देशहरूले आफ्नो स्वाधीनता र राष्ट्रिय हितको रक्षानिम्ति कसैको उक्साहट र आवेगमा आएर हैन कि दीर्घकालीन हित र शक्तिसन्तुलनको आँकलन गरेर कसैप्रति आश्रित नभई वा स्थायी दुश्मनी नगरी सबैसँग सन्तुलित सम्बन्ध राख्नुपर्दछ।’

प्रकाशित: १९ फागुन २०८१ ५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast