![पर्यटनको राजधानी फोहोरले दुर्गन्धित](https://himalpress.com/wp-content/uploads/2025/02/phohor_pokhara.jpg)
पोखरा– पर्यटनको राजधानी पोखरामा झण्डै एक सातादेखि फोहोर उठ्न सकेको छैन। चोकचोकमा फोहोरको थुप्रोले बजारसमेत दुर्गन्धित बन्न पुगेको छ।
पोखरा–३२ स्थित लामेआहालमा फोहोर बिसर्जन हुँदैआएकोमा स्थानीयले सम्झौता अवधि सकिएको भन्दै फोहोर बिसर्जन रोकेका छन्। महानगरबाट फोहोर संकलन गरेर त्यहाँ बिसर्जन गर्न गएका गाडीलाई उनीहरुले छेकेर राखेका छन्।
विभिन्न देशका पर्यटक भ्रमण गर्ने पोखरा बजारमा फोहोरको थुप्रोले नकारात्मक असर पारेको छ। पोखरेलीले घरघरमै फोहोर थुप्रो पारेर राख्न बाध्य छन्। उनीहरुले पोखराका मेयर धनराज आचार्य र समग्र महानगरको कार्यको टीकाटिप्पणी गरेका छन्।
दुई वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरा–१४, बाच्छिबुडुवाबाट ल्याण्डफिल साइट अस्थायीरुपमा पोखरा–३२, लामेआहाल सारिएको थियो।
सुरुमा ६ महिनाका लागि स्थानीयसँग १६ बुँदे सम्झौता गरिएकोमा म्याद सकिएपछि दोस्रोपल्ट १४ बुँदे सहमति भएको थियो। उक्त म्यादसमेत अहिले सकिएको हो।
महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले सम्झौता अवधि सकिएपछि यसबारे स्थानीयसँग वार्ता चलिरहेको बताए। उनले भने, ‘उहाँहरु (लामेआहाल क्षेत्रवासी) को मागमा बजेट थप गर्नुपर्छ भन्ने छ। हामी अरुले अरु वडाको भन्दा थप ५ करोड बढी बजेट विनियोजन गर्दै पनि आएका छौँ। समस्या समाधानका लागि वार्ता नै अन्तिम विकल्प हो।’
ल्याण्डफिल साइट प्रभावित स्थानीयसँग महानगरपालिकाले गरेको सम्झौता गत २३ माघदेखि सकिएको छ। समस्या समाधानका लागि सरोकारवालाबीच बैठक बसे पनि सहमति जुटेको छैन। स्थानीयले भने पूर्वसहमति कार्यान्वयनमा जोड दिनुपर्ने अडान गरेका छन्।
फोहोर फालेवापत् पोखरा ३२ वडा कार्यालयलाई बर्सेनि ५ करोड रुपैयाँ थप बजेट दिने पूर्वसहमति भए पनि दुई वर्ष बितिसक्दा साढे ८ करोडमात्रै प्राप्त भएको बताइएको छ। स्थानीयले तत्काल बाँकी रकम तुरुन्त उपलब्ध गराइदिनुपर्ने माग गरेका छन्।
पोखरामा दैनिक १५० टन जति फोहोर संकलन हुने गरेको महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले बताए। त्यसका लागि ८ कम्पनीलाई फोहोर संकलन जिम्मा दिइएको छ। दैनिक तालिका बनाएर फोहोर संकलन गरिरहेका ती कम्पनीलाई ३ वर्षको २ करोड ४८ लाख रुपैयाँ लिने गरी ठेक्का दिइएको थियो।
पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीका अनुसार स्थानीयले पूर्वसहमति कार्यान्वयनमा नगएको भन्दै ‘सकेसम्म लामेआहालमा फोहोर नल्याउनू’ भनी अडान राखेको जानकारी दिए।
ल्याण्डफिल साइट समस्या समाधानका लागि राजनीतिक पार्टी र सरोकारवालाको सहजीकरण समिति गठन भएको छ। उक्त समिति नै यतिखेर स्थानीयसँग निरन्तर वार्तामा छ।
पोखराको फोहोर समस्या स्थायीरुपमा समाधान गर्न महानगरले वडा–३३, भरतपोखरीमा प्रशोधन केन्द्र निर्माणको तयारी गरेको छ। त्यसका लागि १७ जना जग्गाधनीहरुसँग ९३ रोपनी जग्गा अधिग्रहण गरेर राखिएको छ। तर, निर्माण प्रारम्भ हुन सकेको छैन।
पोखराका मेयर आचार्यले त उक्त प्रशोधन केन्द्र टिकट काटेरमात्र हेर्नेखालको हुने दाबी गर्दै आएका छन्।