काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेट गरेका छन्। सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत बासले शिष्टाचार भेट गरेका हुन्।
भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध घनिष्ट रहेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र बलियो हुने विश्वास व्यक्त गरे।
नेपाल शान्तिको पक्षधर राष्ट्र भएको भन्दै उनले भने,‘हामी सधैँ मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा छौँ। संयुक्त राष्ट्रसंघलगायतका बहुपक्षीय मञ्चहरूमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ।’
इजरायलले सुरू गरेको लर्न एण्ड अर्न कार्यक्रम नेपालीहरूका लागि निकै प्रभावकारी भएको र त्यस्ता कार्यक्रममा गएका नेपालीहरूले कृषि प्रविधिको राम्रो ज्ञान प्राप्त गरी स्वदेश फर्केर राम्रो प्रगति गरेको दाहालले बताए।
लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताए।
राजदूत बासले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीय स्थलहरूका हिसाबले निकै धनी रहेको बताए।
उनले गत वर्ष अर्न एण्ड लर्न कार्यक्रममा इजरायल पुगेका विद्यार्थीहरूमाथि भएको घटना निकै दुखद भएको बताए।
हमाससँगको वार्तासँगै युद्धविराम भएको र हमासले बन्धक बनाएका नागरिकरूको रिहाइ भइरहेको चर्चा गर्दै उनले अहिले अवस्था बदलिएको बताए।
हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीलाई छुटाउन आफूहरूले निरन्तर पहल गरिरहेको भन्दै राजदूत बासले आज बिहानमात्रै विपिनका बुबालगायत परिवारका सदस्यहरूलाई भेटेको बताए।
हमासको आक्रमणलगत्तै नेपाल, थाइल्याण्ड र फिलिपिन्सले आफ्ना विद्यार्थीको उद्धार गरी ल्याएकोमा अहिले थाइल्याण्ड र फिलिपिन्सका विद्यार्थीहरू इजरायल फर्किसेकेको जानकारी दिँदै उनले अब त्यस्तो घटना नदोहोरिने र उनीहरूको सुरक्षाको जिम्मा इजरायल सरकारले लिने बताए।