काठमाडौँ- चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स ४.१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको तथ्यांकअनुसार ७ खर्ब ६३ अर्ब ८ करोड रेमिट्यान्स पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको बैंकले जनाएको छ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको तथ्यांकमा उल्लेख छ।