सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

हिमाल प्रेस १० असोज २०८३ २०:१९ | Saturday, September 26, 2026
सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता फाइल तस्बिर

कास्की- पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ।

रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न भई जोखिममा परेका छन्।

सेतीमा पानीको बहाव बढेर रामघाटमा ताल बनेपछि त्यस वरपरको सुकुमवासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतकर्ता अपनाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

‘विगतमा जस्तै पानीको उच्च बहावले ताल बने पनि अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको स्वयं स्थानीयले बताएका छन्। हामीले सुरक्षाकर्मी परिचालन गरी पूर्वसावधानी र जोखिम मुल्यांकन गरीरहेका छौँ। अहिलेको अवस्था हेर्दा आतंकित हुनेभन्दा सतर्क र सचेत बन्नु आवश्यक छ। खतरा हुने बित्तिकै नदीको वारी र पारी दुवैतर्फ रहेका बस्तीहरू सुरक्षित स्थानमा छौँ, बरालले भने।

बजारको मध्य भाग भएर बग्ने नदीको बहाव रोकिएर ताल बनेपछि पोखरेली भने त्रसित छन्। यसैगरी अविरल वर्षाका कारण जिल्लामा केही ग्रामीण सडकहरू भने अवरुद्ध भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्याउली बजारमा मोदी खोलाले सडक कटान गर्दा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ।

मोदीले शुक्रबार साँझ स्याउली बजारमा १० मिटर सडक कटान गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरूङले जानकारी दिए। उनका अनुसार सडक अवरुद्ध हुँदा पर्यटकीय क्षेत्र घान्द्रुकको पोखरासँगको सम्पर्क विच्छेद छ।

प्रकाशित: १० असोज २०८३ २०:१९ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast