काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै स्टन्टबाजीबाट देश नचल्ने बताएका छन्। नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलन बुधबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिए। उनले भने, ‘कुनै स्टन्टबाजीबाट देश चल्दैन।’
प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमान र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने धारणा राखे। राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा ओलीले जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरु कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतम्भन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए। सरकार कानुन व्यवसाय र युवाहरुको साथमा रहेको स्पष्ट गर्दै ओलीले यस क्षेत्रको भलाइ र उन्नतिका लागि सरकार सरकारले कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाएका छन्।