काठमाडौँ- मलेसियाका लागि नेपालका राजदूत राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
क्वालालाम्पुरस्थित राजप्रासदमा मंगलबार आयोजित विशेष समारोहमा उनले मलेसियाका राजा इब्राहिमसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।
ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।
त्यस अवसरमा मलेसियाका विदेशमन्त्री दातोसिरी उतामा हाजी मोहम्मद बिन हाजी हसन, विदेश मन्त्रालयका उच्च अधिकारीका साथै नेपाली दूतावासका पदाधिकारीको उपस्थिति रहेको क्लालाम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ।
राजदूत तिमिल्सिनासहित अन्य राष्ट्रका पाँच जना राजदूतले पनि सोही समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।