काठमाडौँ- शिक्षक सेवा आयोगले परीक्षामा सफल ७८७ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पठाएको छ।
विभिन्न मितिमा केन्द्रले मागेअनुसार आयोगबाट गत चैत २ गते प्रकाशित विज्ञापनअनुसार निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट (लिखित परीक्षा र अन्तर्वार्ता) बाट स्थायी नियुक्तिका लागि शिक्षक सिफारिस गरिएको आयोगले जनाएको छ।
सातवटै प्रदेशका लागि छनोट गरिएका कुल ७८७ जना उम्मेदवारहरूलाई शिक्षा ऐन (संशोधनसहित) २०२८ को दफा ११ ख (१) तथा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ४ र २४ स्थायी नियुक्तिका लागि संलग्न विषयगत एकमुष्ट योग्यताक्रम, विभिन्न मितिका उम्मेदवार सिफारिससम्बन्धी सूचना र अन्य संख्यात्मक विवरणहरू आयोगको १४ गतेको निर्णयानुसार केन्द्रमा पठाइएको आयोगका प्रशासकीय प्रमुख श्रीप्रसाद भट्टराईले जनाए।