बिमा प्राधिकरणको अध्यक्ष बन्न चार आकांक्षी

हिमाल प्रेस ९ पुष २०८१ १६:५१
58
SHARES
बिमा प्राधिकरणको अध्यक्ष बन्न चार आकांक्षी शंकर रायमाझी, सुरेन्द्र पौडेल, रामशरण पुडासैनी र कवि पाठक।

काठमाडौँ- नेपाल बिमा प्राधिकरण अध्यक्षविहीन छ। तत्कालीन अध्यक्ष सूर्य सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन्। सिलवालविरुद्ध आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यति बेला समितिको कार्यवाहक जिम्मेवारीम अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल छन्।

बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका विषयमा गत साता अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयका कर्मचारीसँग छलफल गरेका थिए। सोहीअनुसार अर्थ मन्त्रालय अध्यक्षको छनोटका लागि विज्ञापन खुलाउने तयारीमा रहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

अर्थमन्त्री पौडेल हाल थाइल्यान्डमा भ्रमणमा छन्। उनी फर्किएपछि बिमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्ने ती अधिकारीले बताए।

अर्थमन्त्री पौडेलले बिमा प्राधिकरण अध्यक्ष नियुक्तिका विषयमा प्रधानमन्त्री केपी ओलीसँग छलफल गरिसकेका छन्। प्रधानमन्त्री र अर्थमन्त्रीबीच प्राधिकरणको अध्यक्ष छनोटका लागि छलफल छलफल भइसकेको मन्त्रालयका ती उच्च अधिकारीले बताए। प्रधानमन्त्री र अर्थमन्त्रीबीच छलफल भए पनि सत्ता गठबन्धन दलसँग अध्यक्ष छनोटका विषयमा छलफल भएको छैन।

ती उच्च अधिकारीले सत्ता गठबन्धनभित्र सल्लाह भए पनि अध्यक्ष छनोट छिट्टै सुरु हुने बताए। ‘यही साता अध्यक्षका लागि विज्ञापन खुल्नेछ। त्यसका सबै तयारी भएको छ। गठबन्धनभित्र सहमति नभए अर्को साता अध्यक्षको विज्ञापन खुल्छ’, ती अधिकारीले भने।

बिमा प्राधिकरण अध्यक्षमा कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्र पौडेल, राष्ट्रिय बिमा संस्थानका पूर्वप्रशासक कवि पाठक र नेपाल पुनर्बिमा कम्पनीका पूर्वकार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझी आकांक्षी छन्।

पुडासैनी एमाले निटक पूर्वकर्मचारी हुन्। प्रधानमन्त्री ओलीले पुडासैनीलाई प्राधिकरण अध्यक्ष बनाउन इच्छा राखेको अर्थ मन्त्रालयका कर्मचारीको दाबी छ। अर्थमन्त्री पौडेलले भने उनलाई प्राधिकरणको अध्यक्ष बनाउन चासो दिएका छैनन्।

निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्र पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी पनि एमालेनिटक मानिन्छन्। संस्थानका पूर्वप्रशासक पाठक कांग्रेसको कोटाबाट दाबेदार हुन्।

अर्का आकांक्षी रायमाझी एमाले निटक मानिन्छन्। अर्थमन्त्री पौडेल पनि रायमाझीप्रति लचक रहेको दाबी अर्थमन्त्रालयका कर्मचारीहरूको बुझाइ छ।

पछिल्लो समय प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडलबीच सम्बन्ध राम्रो नभएको चर्चा राजनीतिक वृत्तमा छ। उनीहरूबीच सहमति भए कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी र नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक सुरेन्द्र पौडेलमध्ये एकजना प्राधिकरणको अध्यक्ष बन्ने अर्थ मन्त्रालय स्रोतको दाबी छ।

बिमा ऐन २०७९ अनुसार अध्यक्षको म्याद सकिन भन्दा एक महिनाअगाडि अध्यक्ष छनोट गरिसक्नुपर्छ। प्राधिकरण अध्यक्षका लागि बिमा, बैंकिङ, मौद्रिक, व्यावस्थापन, जनप्रशासन, गणित, व्यवस्थापन, वित्त, वाणिज्यशास्त्र अथवा काननुमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्छ। साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएका व्यक्तिले प्राधिकरणको अध्यक्षका लागि उम्मेदवार बन्न सक्छन्।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले मन्त्रालय प्राधिकरणलाई धेरै समय नेतृत्वविहीन राख्न नहुने पक्षमा रहेको बताए। उनले भने, ‘ त्यही भएर पनि प्राधिकरणको अध्यक्ष छनोट प्रक्रिया अघि बढाइएको छ।’

प्रकाशित: ९ पुष २०८१ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast