जनकपुरधाम- जनकपुरधाममा एक वृद्धको हत्या भएको छ। जनकपुरधाम वडा नम्बर ४ मुरली चोकस्थित दुर्गा मन्दिर प्राङ्गणमा अन्दाजी ६२ वर्षीय वृद्धको गएराति हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी बरुण सिंहले वृद्धको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा शव फेला परेको जानकारी दिए।
‘शरीरको विभिन्न भागमा चोट लागेको छ। कसैसँग झैझगडा भएको देखिन्छ,’ सिंहले भने,‘चोटकै कारण मृत्यु भएको बुझिन्छ।’ उनले शवको सनाखत हुन बाँकी रहेको बताए।
डीएसपी सिंहका अनुसार गएराति १ देखि ३ बजेको बीचमा घटना भएको हो। स्थानीयहरूले भने मृतक अरुण झा भन्ने व्यक्ति रहेको बताएका छन्। वडा नम्बर ४ का वडा सदस्य प्रशन्न झाले मृतकको नाम अरुण झा रहेको बताए।
परिवारबाट छुट्टिएर बस्दै आएका उनी सधैँ मन्दिरमै सुत्ने गरेको वडा सदस्य झाको भनाइ छ। उनका अनुसार मृतकको अनुहारमा चोट देखिएको छ। डीएसपी सिंहले घटनाबारे अनुसन्धान भइरहेको र संलग्न व्यक्ति चाँडै नियन्त्रणमा आउने बताए।