काठमाडौँ- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो खेलमा अंक तालिकामा सातौ र आठौं स्थानमा रहेका पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा खेल हुनेछ।
कीर्तिपुरस्थित टीयू मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। दुवै टिम पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन्। आजको खेलमा विजेता बन्ने टिमले प्लेअफको झिनो सम्भावना कायमै राख्दा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम बन्नेछ।
लुम्बिनी लायन्स बुधबार प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको थियो। पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो। तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो।
सुरुवाती दुवै खेल हारेको विराटनगरले तेस्रो खेलमा भने जित हात पारेका थिए। विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो। तेस्रोमा टिमले लुम्बिनीलाई हराएको थियो। चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो ।
आज दोस्रो खेलमा करण केसीको कप्तानीमा रहेको काठमाडौँ गुर्खाजले अनिलकुमार शाहको नेतृत्वमा रहेको टिम जनकपुर बोल्ट्सको सामना गर्दैछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।
५ खेलमा ४ जित र १ हारका साथ जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ। यो खेलमा पनि जित निकालेर लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ। जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो। तर, पछिल्लो खेलमा सुदूरपश्चिम लायन्ससँग भने पराजित भएको थियो।
४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौँ तालिकाको पाँचौ स्थानमा छ। यो खेलमा जित हात पार्दै काठमाडौँ प्लेअफ सम्भावना बलियो बनाउन चाहान्छ।