काठमाडौँ– नेपाल राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो।
राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ सिस्टममार्फत बुधबार २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिनेछ। निक्षेप संकलनको बोलकबोल बहु ब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले मंसिर २३ गते २१ दिनका लागि ७० अर्बको निक्षेप संकलन बोल गरेको थियो।
जसको औसत ब्याजदर २.९८ प्रतिशत कायम भएको थियो। त्यस्तै त्यसअघि मंसिर १९ गते २१ दिनका लागि ५० अर्बको बोल गरेकोमा बैंकहरुले २४ अर्ब ५ करोड बुझाएका थिए। जसको ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।