काठमाडौँ- मंसिरको चौथो शनिबार। सधैँझै हामीले साताको शनिबार उपत्यकामा आज हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गरेका छाैँ।
यो साता हलमा ‘पुष्षा २’को वर्चस्व छ। रंगमञ्चमा ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चनरत छ। त्यस्तै अन्य साहित्यक कार्यक्रमलगायत के के हुँदैछन् त हेरौं
कीर्तिपुरमा कर्मा र कुटुम्बको कन्सर्ट
कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्रांगणमा वृहत सांस्कृतिक कार्यक्रम हुँदैछ। कार्यक्रममा चर्चित सांगीतिक ब्याण्ड कर्मा र कुटुम्बले ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा थुप्रै गीत प्रस्तुत गर्नेछन्। कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गदै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता साँस्कृतिक कार्यक्रम पनि हुनेछ। कार्यक्रम एएसक्यु इकाइले आयोजना गरेको हो।
‘ढुकढुकी ७२ मेगाहर्ज’
मण्डलामै कात्तिक २४ देखि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन भइरहेको छ। शनिबार नाटकको दुई सो छ, साँझ साढे ५ बजे र दिउँसो १ बजे।
नाटक मानवीय भावना, प्रेम अनि सहअस्तित्वका जटिलतासँग सम्बन्धित छ। जसलाई सन्तानको चाहनामा रहेका एक दम्पत्तिको आशा, सपना, आकांक्षा, बाधा र दुविधाबीच चल्ने मुटुको धड्कनलाई प्रतिध्वनिको रुपमा प्रस्तुत गरिएको छ। नाटकका परिकल्पनाकार, लेखक तथा निर्देशक केदार श्रेष्ठ हुन्। नाटकमा कलाकार मेनुका प्रधान र कर्माले अभिनय गरेका छन्।
‘पुष्पा २’ को उच्च सोसहित हलमा दुई नेपाली फिल्म
पुष्पा २ः द रुल
मंसिर २१ देखि नेपालमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ उच्च सोसहित प्रदर्शन भइरहेको छ। फिल्मलाई हलले बिहान ४ः१५ देखि मध्यराति १२ बजेसम्मको शो दिएको छ। फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, रमेश रावलगायत कलाकारको अभिनय छ। एक्सन, क्राइन, ड्रामा जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक सुकुमार बान्द्रेडी हुन्। फिल्म मैत्री मूभिज मेकरको ब्यानरमा निर्माण भएको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको ८१ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा २३ सो, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा १२ सो छ। त्यस्तै एफक्यूब सिनेमाजमा १६ सो, बिग मुभिजमा १७ सो, रञ्जना सिनेप्लेक्समा १४ सो, सिके सिनेमाजमा १० सो, सिटी सिनेमाजमा १० सो, बिएसआर मुभिजमा ११ सो, सिडिसी सिनेमाजमा ९ सो, विश्वज्योति हलमा ८ सोसहित कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, कलंकी सिनेमा हलमा फिल्म चलिरहेको छ।
तेल भिसा
मंसिर ७ देखि नै हलमा ‘तेल भिसा’ पनि प्रदर्शन भइरहेको छ। फिल्म डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै पलायन हुने नेपाली समाजको परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक शंकर घिमिरे हुन्। फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा लामा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मल र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।
पूर्ण बहादुरको सारङ्गी
गत कात्तिक १५ देखि हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ। फिल्मले हालसम्म करिब ४५ करोडमाथि कमाएको निर्माण टिमको दाबी छ। गन्धर्व समुदायको कथाम आधारित फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र सिभिल मलमा फिल्मको ९ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा २ सो, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल १ सो छ। त्यस्तै एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, अष्टनारायण हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ उच्च सोसहित प्रदर्शन भइरहेको छ।