इटहरी- धरानका मेयर हर्क साम्पाङले ‘खोज पत्रकारिताको अन्त्य गरिदिन्छु’ भन्दै पत्रकारलाई धम्की दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पत्रकारलाई धम्की दिएका हुन्।
‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै हाजिर हुनु। अन्यथा, तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !,’ फेसबुकमा उनले लेखेका छन्।
पत्रकार दाहालले केही दिनअघि खोज पत्रकारिता केन्द्रका लागि धरानका मेयर हर्क साम्पाङको मनमौजी शासन शैलीका विषयमा समाचार प्रकाशित गरेका थिए। उनले यसअघि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला! नत्र तँ मूलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा ! जनकऋषि भन्ने पनि आउनु !’
जनकऋषि राई पत्रकार महासंघ सुनसरीका अध्यक्ष हुन्। मेयर साम्पाङले आफू अनुकूल समाचार नलेख्ने मिडिया तथा पत्रकारलाई पटकपटक लाञ्छना लगाउँदै आएका छन्।