पोखरा- सानै उमेरदेखि अरुको सेवा गरेर चर्चित बनेकी गिभिना मगरमाथि अहिले बज्रचोट परेको छ। उनले शुक्रबार आमालाई सधैँका लागि गुमाइन्। त्यस लगत्तै भाइले पनि आत्महत्या गरेको खबर आयो। अनपेक्षित यी शृङ्खलाबद्ध अप्रिय खबरले गिभिनालाई कमजोर बनाएको छ।
२७ वर्षीया गिभिना गत सातामात्र विवाह बन्धनमा बाँधिएकी थिइन्। नयाँ जीवनको खुसी सेलाउन नपाउँदै आमा सडक दुर्घटनामा परेको खबर सुनेकी उनी शुक्रबार साँझ सामाजिक सञ्जालमा लाइभ आइन्।
आमा दुर्घटनामा परेको र अचेत भई बोल्न नसक्ने खबर सुनाउँदै आफ्ना शुभचिन्तक तथा आफन्तलाई यदि नजिकै भए पोखरास्थित अस्पताल गइदिएर सहयोग गरिदिन आग्रह गरेकी थिइन्। तर, दैवको लीला उनकी आमा धनकुमारीको उपचारका क्रममा पोखरा मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ।
आमाको निधनले विक्षिप्त छोरा (गिभिनाका कान्छा भाइ) ले पनि घरमै आत्महत्या गरेका छन्।
शुक्रबार साँझ पोखरा–२५, हेमजामा सडक पार गर्दै गर्दा ५५ वर्षीया आमा धनकुमारीलाई ट्रकले ठक्कर दिएको हो। धनकुमारी आफ्ना पति गणेश मगरसँगै थिइन्। उक्त दुर्घटनाको सिसी टिभी फुटेज हेर्दा पतिभन्दा एकदुई कदम उनी अगाडि देखिन्छन्। उनी अघि बढ्न लागेको दृश्य देखिन्छ। यत्तिकैमा पोखरातर्फ आउँदै ट्रकले ठक्कर दिएको छ। दुर्घटनामा रगताम्य उनलाई तत्काल मणिपाल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको वडाध्यक्ष मोतीलाल तिम्सिनाले बताए।
पोखरा–बागलुङ राजमार्गअन्तर्गत हेमजा याम्दीको क्रान्तिटोलमा शुक्रबार साँझ साढे ७ बजे उक्त दुर्घटना भएको हो। वडा प्रहरी कार्यालय बगरका अनुसार ग २ ख १४६० नम्बरको ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ।
गिभिनाका भाइ नाताका महिन मगरले नसोचेको घटना भएको भन्दै दुःख व्यक्त गरे। उनका अनुसार आफूहरु घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गरी पाउँ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताउँछन्। गिभिना परिवारकी जेठी छोरी हुन्। उनका दुई जना भाइ छन्।
पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष तिम्सिनाले टिकटक अभियानमार्फत सबैको सेवा गर्दै आएकी गिभिनाको घरमा एकै दिन दुई घटना हुन पुगेकोमा निकै चिन्तित बनाएको बताए। उनका अनुसार त्यस दिन छोरा (गिभिनाका भाइ) ले बाबुआमालाई छाडेर घर फर्किएका रहेछन्। आमाको सडक दुर्घटनामा मृत्युपछि सहन नसकी सुसाइड गरेको पाइयो।
उनले अगाडि भने, ‘घटना सुनेपछि म पनि बिहान गिभिनाको घर गई परिवारका सदस्य र आफन्तलाई सान्त्वना दिएर फर्किएको हुँ।’ गिभिनाका भाइ शनिबार बिहान घरमै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।
मृतक दुवै जनाको शव अस्पतालमा राखिएको छ। दाङको मगर परिवार लामो समयदेखि पोखरा आई बसेको हो। मृतकको पोखरा सेती नदीमै अन्त्येष्टि गरिने परिवारजनको तयारी छ।
सानैदेखि सामाजिक कार्यमा रुची राख्ने गिभिनाले गत ८ मंसिरमा धरानका किरण लिम्बुसँग लगनगाँठो कसेकी हुन्। ७ वर्षको उमेरमा दाङदेखि आएर हेमजाको याम्दीमा बस्दै आएकी थिइन्। दीनदुःखीको सेवामा सधैँ लागिपर्ने गिभिना केही वर्षयता टिकटकमार्पmत चर्चित बनेकी हुन्। उनका लाखौं फ्यान छन्।
पोखराकै कालिका क्याम्पसबाट बीएड गरेकी यी अभियन्ता पछिल्लो समय पोखराको कुमुदिनी होम्सकी शिक्षिका थिइन्। वैदेशिक रोजगारीमा रहेका धरानका किरणसँग साधारण ढंगले बिहे गरेकी गिभिनालाई उनका फ्यानले विभिन्न माध्यमबाट प्रेमपूर्वक शुभकामना दिइरहेका थिए। तर, विहेको एक साता नबित्दै चोटमाथि बज्रचोटले सबैलाई दुःखी बनाएको छ।
गिभिना विमानमार्फत शनिबार राति नै पोखरा आएकी छन्। आफूले कमाएको पैसा घरखर्च गर्नुभन्दा समाजसेवामा लगाउँदा उनी सन्तोष हुन्छिन्। बज्यैले दिएको चिनो सुनको सिक्रीसमेत बेचेर समाजसेवामा लगाएको उनले बताउने गरेकी छिन्। मोडल समेत रहेकी उनी पहिलो म्यूजिक भिडियोबाट प्राप्त एक लाख हेमजाकै एक बालिकाको शल्यक्रियामा सहयोग गरेकी थिइन्।
दोस्रो म्यूजिक भिडियोवापतको कमाई देविका तामाङको संरक्षणमा खर्चिएकी थिइन्। यी केही घटनामात्र हुन्। उनले असहाय, गरीब, निमुखाको सेवा गरिरहन्छिन्। सडकमा कैयौं असहायलाई उद्धार गरी मानव सेवा आश्रम तथा वृद्धाश्रममा लगेकी छन्। सहयोग कार्यमा आफूलाई सन्तुष्टी मिल्ने गरेको उनको भनाइ छ।
२ वर्षअघि उनलाई स्टार्स फाउण्डेशन कास्की नेपालले वर्ष स्टार्स समाजसेवी पुरस्कार प्रदान गरेको थियो। युवाका लागि समेत प्रेरणा बनेकी गिभिनाले गरेका सयौं सहयोगका क्रियाकलापहरु सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्ट्राग्राम लगायतमा पेजहरुमा भेट्न सकिन्छ।