नवलपुर- गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जीसी श्रेष्ठले आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्। शुक्रबार नवलपुरको कावासोतीस्थित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले समाजमा सहकार्यको भावना जागृत गर्दै संगठित भएर पुँजीको सही परिचालन गर्दै आएका सहकारीले आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्याएको बताएकी हुन्।
‘उद्देश्य अनुरुप सञ्चालन नहुँदा, पारदर्शिता नहुँदा, समाजप्रति र बचतकर्ताप्रति उत्तरदायी नहुँदा केही सहकारीहरूमा समस्या आएको छ। तर पारदर्शी ढङ्गबाट अघि बढीरहेका सहकारीहरूको कार्यप्रगति राम्रो छ,’ उनले भनिन्, ‘स्थापनाको उद्देश्य अनुरुप, बचतकर्ताहरूको भावना अनुरुप सञ्चालन भइरहेका सहकारीहरूले आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।’
सहकारीलाई उद्यमसँग जोड्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो। अन्नबालीका लागि नवलपुर उर्वर भूमी भएकाले सामूहिक खेती लगायतका कृषि उद्यमसँग जोडिन बचतकर्ताहरूलाई उनले आह्वान गरिन्। ‘सहकारीलाई उद्यमसँग जोडिरहँदा केही चुनौतीहरू देखा पर्न सक्छन्। हामीले चुनौतीलाई अवसरका रुपमा लिँदै अघि बढ्नु पर्दछ’, उनले भनिन्, ‘आर्थिक उन्नयनका लागि उद्यमशिलताको विकल्प छैन। तसर्थ सबै बचतकर्ता, श्यर सदस्य लगायत सहकारीमा आवद्ध सम्पूर्णलाई उद्यममा अघि बढ्न आह्वान गर्दछु।’