बागमती प्रदेशमा बन्यो कांग्रेस-एमालेको संयन्त्र, यस्ता छन् पहिलो बैठकका निर्णय

हिमाल प्रेस २५ कार्तिक २०८१ १५:४३
46
SHARES
बागमती प्रदेशमा बन्यो कांग्रेस-एमालेको संयन्त्र, यस्ता छन् पहिलो बैठकका निर्णय

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले केन्द्रीय सहमतिअनुसार दुई दलीय संयन्त्र प्रदेशमा पनि विस्तार गरेका छन्। जसअनुसार बागमती प्रदेशमा आलोपालो संयन्त्रको नेतृत्व लिने निर्णय पनि भइसकेको छ। आइतबार कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा पहिलो बैठक बसेको छ।

बैठकले एक-एक महिना संयन्त्रको संयोजन गर्नेसहित ६ वटा निर्णय गरेको छ। जसअनुसार २०८१ मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने र अर्को महिना एमालेका राजन भट्टराईले गर्नेछन्।

बैठकले संयन्त्रको सचिवालयमा कांग्रेस र नेकपा (एमाले) का तर्फबाट एकएक जना रहने पनि निर्णय गरेको छ। बागमतीको १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुवै दलका जिल्ला तहका नेतासँग समन्वय गरी संयन्त्र गठन गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

साथै संयन्त्रको बैठक महिनाको एकपटक अनिवार्य बस्नेत र आवश्यकताअनुसार थप बस्ने पनि निर्णय गरेको छ। दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठक आगामी मंसिर ३ गते मुख्यमन्त्रीको कार्यालयमा बसी प्रदेश सरकार गठन भएको सय दिनको उपलब्धी र आगामी कार्यक्रमबारे जानकारी लिने निर्णय पनि बैठकले गरेको छ।

आजको बैठकमा कांग्रेसका तर्फबाट बानियाँ, बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस नेता बहादुरसिंह लामा र कांग्रेस बागमतीका उपसभापति चन्द्र महर्जन सहभागी थिए।

त्यस्तै एमालेका तर्फबाट बागमती इन्चार्ज राजन भट्टराई र बागमती अध्यक्ष कैलाश ढुंगेल सहभागी थिए।

प्रकाशित: २५ कार्तिक २०८१ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast