आईएमआईएसमा शिक्षक विवरण अद्यावधिक नगराउँदा दरबन्दी र तलबभत्ता भुक्तानीमा समस्या!

हिमाल प्रेस ३० असोज २०८१ १७:५३
464
SHARES
आईएमआईएसमा शिक्षक विवरण अद्यावधिक नगराउँदा दरबन्दी र तलबभत्ता भुक्तानीमा समस्या!

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको विवरण अद्यावधिक गर्न गराउन आग्रह गरेको छ।

शैक्षिक वर्ष २०८१ को विद्यालय शिक्षासँग सम्बन्धित विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System-IEMIS) मा अद्यावधिक गर्न सूचना प्रकाशित गरिएकोमा अधिकांश विद्यालयले विद्यार्थीसँग सम्बन्धित विवरणमात्र अद्यावधिक गरेको र शिक्षक, भौतिक तथा व्यवस्थापकीय पक्षसँग सम्बन्धित विवरण पूर्णरुपमा अद्यावधिक नगरेको पाइएको केन्द्रले जनाएको छ।

जस कारण शिक्षक व्यवस्थापन, दरबन्दीको पुनः वितरण, दरबन्दी मिलानलगायतका कार्यमा कठिनाइ भएको बताउँदै केन्द्रले दरबन्दी मिलान समेतको प्रयोजनका लागि सबै विद्यालयलाई शिक्षकलगायत भौतिक र व्यवस्थापकीय पक्षसँग सम्बन्धित (IEMIS मा भएका सबै Information fieldहरू) विवरण तत्काल अध्यावधिक गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो।

केन्द्रले आज (असोज ३०‌ गते)  सबै स्थानीय तहलाई पत्र लेख्दै सो आग्रह गरेको हो। केन्द्रका तथ्यांक अधिकृत सुशील पौडेलले विवरण अद्यावधिकका लागि आवश्यक समन्वय एवम् सहजीकरणका लागि शिक्षा विकास तथा समन्वय एकाइ र सबै प्रदेशका शिक्षा विकास निर्देशनालयलाई अनुरोध गरेका छन्।

स्थानीय तहबाट शिक्षक तलबभत्ता लगायत अन्य अनुदान विद्यालयलाई निकासा दिनुपूर्व IEMIS मा उक्त विवरण अद्यावधिक भए/नभएको यकिन गरी तत्पश्चात् मात्र निकासा दिने व्यवस्था र समयमा यथार्थ विवरण प्रविष्टि/अद्यावधिक नभएका कारण शिक्षक दरबन्दी मिलान एवम् तलबभत्ता भुक्तानीमा समस्या हुन गएमा सम्बन्धित विद्यालयको प्रधानाध्यापक नै जिम्मेवार हुने व्यहोरा सम्बन्धित विद्यालयलाई जानकारी गराइदिन पनि पनि निर्देशन दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =