विपत्तिको अँध्यारोमा प्रार्थनाको उज्यालो [तस्बिरहरू]

डा. उमेशप्रसाद घिमिरे २३ भदौ २०८३ २१:१६ | Tuesday, September 8, 2026
विपत्तिको अँध्यारोमा प्रार्थनाको उज्यालो [तस्बिरहरू]

भदौ १० गते हिमताल फुटेपछि ल्हेन्दे खोला, भोटेकोशी हुँदै त्रिशूलीमा आएको भीषण बाढीले धेरैको जीवन सदाका लागि बालुवामा मिलाइदियो। केही घण्टामै नदीले बस्ती बगायो, घरखेत उजाड्यो र परिवारका सदस्यलाई एकअर्काबाट छुट्याइदियो। रसुवा, नुवाकोट र धादिङका नदीकिनारमा बसोबास गर्ने नागरिक मात्र होइन, विदेशी पर्यटक तथा भारतीय तीर्थयात्रीसमेत यो विनाशकारी बाढीको चपेटामा परेर ज्यान गुमाए।

कसैका लागि त्यो दिन परिवार गुमाउने दिन बन्यो, कसैका लागि जीवनभरको कमाइ र बास गुमाउने। बाँच्न सफल भएकाहरू पनि आफन्त, अभिभावक, सन्तान, घर, जग्गाजमिन, पेसा र व्यवसाय गुमाएर शोक र अनिश्चितताको बीचमा उभिन बाध्य भए।

प्राकृतिक विपत्तिको यस्तो भयावह क्षणमा उद्धार र राहत पहिलो प्राथमिकता बन्नु स्वाभाविक हो। सीमित स्रोतसाधन भए पनि नेपाल सरकार, नेपाली सेना र नेपाल प्रहरीले निरन्तर उद्धार अभियान सञ्चालन गरिरहेका छन्। जोखिमपूर्ण भूगोल र प्रतिकूल परिस्थितिका बीच सुरक्षाकर्मीले देखाएको साहस र समर्पणले सयौँको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

विपत्तिको प्रभाव भौतिक उद्धारमा मात्र सीमित हुँदैन। ज्यान गुमाएकाहरूका परिवारमा परेको शोक, विस्थापितहरूको पीडा र अकालमा मृत्यु भएकाहरूको अन्तिम संस्कारसमेत गर्न नपाएको अवस्थाले विपत्तिको अर्को गहिरो पाटो उजागर गरेको छ।

यहीँबाट धार्मिक तथा आध्यात्मिक जगत्को भूमिका पनि जोडिन्छ।

सनातन परम्परामा मृत्युलाई भौतिक जीवनको अन्त्य मात्र होइन, आत्माको अर्को यात्राको प्रारम्भ मानिन्छ। त्यसैले मृत्यु संस्कार, काजक्रिया, श्राद्ध, तर्पण, पितृस्मरण र आत्मशान्तिका लागि गरिने धार्मिक अनुष्ठानलाई विशेष महत्त्व दिइन्छ। तर विपत्तिमा मृत्यु भएकाहरूको शवसमेत पहिचान हुन नसकेको, कतिपयको शव फेला नपरेको र परिवारले परम्परागत काजक्रिया गर्न नपाएको अवस्थामा सामूहिक प्रार्थना र आध्यात्मिक अनुष्ठानको आवश्यकता महसुस हुनु अस्वाभाविक होइन।

यही भावनाबाट श्री १००८ स्वामी रमणानन्द गिरिको आह्वानमा राष्ट्रिय शोक दिवस अर्थात् १३औँ दिनको पुण्यतिथिका अवसरमा देशभर आध्यात्मिक अनुष्ठान आयोजना गरियो।

पशुपतिनाथ क्षेत्रदेखि वाग्मती किनार, देवघाटधाम, देवीघाट, त्रिशूलीलगायतका नदीतट, गुरुकुल, मठमन्दिर तथा विभिन्न धार्मिक स्थलमा दिवंगत आत्माको शान्ति र उद्धारको कामनासहित धार्मिक कृत्य गरिए। देशबाहिर रहेका सनातनी नेपालीहरूले समेत सामूहिक रूपमा यस्ता अनुष्ठानमा सहभागिता जनाए।

कतै श्रीमद्भगवद्गीताको पाठ भयो, कतै श्रीमद्भागवतको पारायण। कतै पितृसूक्त र विष्णुसहस्रनामको पाठ गरियो भने कतै भगवान्‌को नामसंकीर्तन र दीप प्रज्वलन। कतिपयले नदीकिनारका तीर्थस्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गरे भने कतिपयले आफ्नै पूजाकोठामा बसेर दिवंगतहरूको आत्मशान्तिको कामना गरे।

यी अनुष्ठानको उद्देश्य धार्मिक कर्मकाण्डमा सीमित थिएन। विपत्तिमा ज्यान गुमाएका ज्ञातअज्ञात नागरिकप्रति सामूहिक श्रद्धाञ्जलि अर्पण गर्नु, शोकमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउनु र विपत्तिपछि समाजलाई मानसिक तथा आध्यात्मिक रूपमा पनि सम्हाल्ने प्रयास गर्नु यसको अर्को उद्देश्य थियो।

यही क्रममा प्रकोप प्रभावित नुवाकोटको देवीघाटमा विशेष आध्यात्मिक अनुष्ठान आयोजना गरियो।

त्रिशूली र तादी नदीको संगमस्थल देवीघाट धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। चतुःषष्टि ज्योतिर्लिंगमध्ये एक भैरवेश्वर महादेव र भगवती जाल्पादेवीको सान्निध्य रहेको यो क्षेत्र राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहको अन्तिम सद्गतिसँग पनि जोडिएको छ।

यही पवित्र भूमिमा दिवंगत आत्माहरूको उद्धार र शान्तिको सत्संकल्पसहित विशेष धार्मिक अनुष्ठान सम्पन्न भयो।

श्री १००८ स्वामी रमणानन्द गिरिको नेतृत्व तथा महेश छात्र परिषद्को संयोजनमा भएको अनुष्ठानमा श्रीमद्भागवत महापुराण, श्रीमद्भगवद्गीता, पितृसूक्त र विष्णुसहस्रनामको पाठ गरियो। त्यससँगै भगवन्नाम संकीर्तन, त्रिशूली गंगाको विशेष पूजा तथा आरती र लक्ष्यवर्ती दीप अर्थात् लाखबत्ती प्रज्वलन गरियो।

त्रिशूलीको किनारमा एकैपटक बलिरहेका असंख्य दीपहरू विपत्तिमा ज्यान गुमाएकाहरूको स्मृतिका प्रतीक थिए, शोकमा डुबेका परिवारका लागि सामूहिक संवेदनाका प्रतीक थिए र अँध्यारो विपत्तिबीच आशाको एउटा सानो उज्यालो पनि।

प्राकृतिक विपत्तिलाई भौतिक क्षतिको घटनाका रूपमा हेर्न नसकिने सन्देश पनि यस्ता अनुष्ठानले दिएका छन्। विपत्तिले घर भत्काउँछ, बस्ती उजाड्छ र सम्पत्ति नष्ट गर्छ; तर त्यसले मानिसको मनमा पार्ने असर अझ लामो समय रहन्छ। त्यसैले उद्धारपछि पुनःस्थापना र पुनर्निर्माणसँगै पीडितको मानसिक, सामाजिक र आध्यात्मिक पुनर्स्थापनालाई पनि महत्त्व दिनुपर्ने देखिन्छ।

यद्यपि आध्यात्मिक अनुष्ठानले राज्यको उद्धार तथा राहतको जिम्मेवारीलाई प्रतिस्थापन गर्न सक्दैन। जीवित उद्धार गरिएका नागरिकका लागि गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको दीर्घकालीन व्यवस्था गर्नु सरकारको प्रमुख दायित्व हो। विस्थापित परिवारको पुनःस्थापना, बालबालिकाको शिक्षाको निरन्तरता, रोजगारी तथा जीविकोपार्जनको पुनःस्थापना र सुरक्षित बस्ती निर्माणमा राज्यले दीर्घकालीन योजना बनाउनुपर्ने हुन्छ।

यही सन्दर्भमा आध्यात्मिक क्षेत्रबाट पनि सरकार र समाजलाई सहयोग, सद्भाव र समन्वयका साथ अघि बढ्न आग्रह गरिएको छ।

भगवद्गीताको ‘परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ’ भन्ने भावझैँ विपत्तिको समयमा एकअर्कालाई सहयोग गर्नु नै समाजको सबैभन्दा ठूलो धर्म बन्न पुग्छ। उद्धारकर्मी जोखिम मोलेर मैदानमा खटिइरहँदा समाजले उनीहरूको मनोबल बढाउनुपर्छ। पीडित परिवारलाई राहत दिँदा दया मात्र होइन, सम्मान र आत्मनिर्भरतातर्फ लैजाने दृष्टिकोण आवश्यक हुन्छ।

त्यसैगरी प्राकृतिक प्रकोपमा अकालमा मृत्यु भएकाहरूको अन्तिम संस्कार तथा धार्मिक संस्कार पूरा हुन नसकेको अवस्थामा धार्मिक संस्थाहरूले आफ्नो परम्परा र क्षमताअनुसार सामूहिक प्रार्थना, श्रद्धाञ्जलि तथा आत्मशान्तिका कार्यक्रम सञ्चालन गर्नुपर्छ।

देवीघाटमा गरिएको अनुष्ठानले यही सन्देश बोकेको छ- विपत्तिको सामना उद्धारकर्मीको हातले मात्र हुँदैन, समाजको सामूहिक संवेदना र सहकार्यले पनि हुन्छ।

त्रिशूलीको बाढीले छोडेको घाउ गहिरो छ। हराएका मानिसको खोजी, भेटिएकाको उद्धार, विस्थापितको पुनःस्थापना र नष्ट भएको भौतिक संरचनाको पुनर्निर्माण तत्कालीन आवश्यकता हुन्। मृतकप्रतिको सम्मान, शोकाकुल परिवारप्रतिको संवेदना र समाजको सामूहिक मनोबल पुनःनिर्माण पनि उत्तिकै आवश्यक छ।

त्यसैले त्रिशूली किनारमा प्रज्वलित ती दीपहरू विपत्तिबाट गुज्रिरहेको समाजलाई स्मरण, संवेदना, सहकार्य र आशाको बाटोमा अघि बढ्न आह्वान गर्ने उज्याला प्रतीक हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast