चिनियाँ जहाजको चक्करमा आन्तरिक उडानमा निगम एउटा ट्विनटरमा सीमित

हिमाल प्रेस २८ असोज २०८१ ८:०९
26
SHARES
चिनियाँ जहाजको चक्करमा आन्तरिक उडानमा निगम एउटा ट्विनटरमा सीमित

काठमाडौँ- नेपाल वायु सेवा निगमले फूलपातीको दिन उद्धार उडान (रेस्क्यु फ्लाइट) का नाममा ए ३२० न्यारोबडी जहाजबाट भैरहवा उडान गर्‍यो। अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुँदै आएको जहाजलाई व्यावसायिक आन्तरिक उडानमा प्रयोग गर्न नमिल्ने भएपछि निगमले ११ र १२ असोजको बाढीपहिरोले राजमार्गहरू अवरुद्ध भएको भएको भन्दै असोज २४ मा सो उडान राखेको थियो।

चार-पाँच घण्टा उडेर खाडी र मलेसिया पुगे पनि वा ४५ मिनेटको भैरहवा उडान गरे पनि एक पटक उडेर अवतरण भएपछि विमानको एक इन्जिन साइकल पूरा हुन्छ। यसरी अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने जहाजलाई आन्तरिक उडानमा प्रयोग गर्ने निर्णय आफैँमा तर्कपूर्ण छैन। जानकारहरूले यसको सही प्रयोग नभएको र कागज काट्न बन्चरोको प्रयोग भएको टिप्पणी गरेका छन्।

३५ वर्षभन्दा पुराना जहाज प्रतिस्थापन गर्ने भन्दै निगमले आन्तरिक उडानका लागि चीनबाट दुईवटा एमए ६० र तीनवटा वाई १२ जहाज ल्याएको थियो। ती सबै जहाज ग्राउन्डेड  छन्। निगमसँग आन्तरिक उडानमा अहिले जम्माजम्मी एउटा ट्विनटर विमान छ। दुई ट्विनटरमध्ये एउटा ग्राउन्डेड भएपछि बाँकी एकमात्र जहाजबाट निगमले सेवा प्रदान गरिरहेको छ।

त्यो विमान पनि दुर्गम पहाडी क्षेत्रमा बढीजसो उडाइने गरेको प्रवक्ता मनोजकुमार साहले बताए। आन्तरिक विमान सेवामा निगमको उपस्थिति लगभग शून्यबराबर छ। राज्यले विमान सेवा प्रदायक कम्पनी नागरिकको करबाट चलाएको छ, निजी विमान कम्पनीहरूले दसैँअघि बाढी पहिरोले राजमार्ग अवरुद्ध हुँदा बेस्सरी हवाई भाडा बढाएर यात्रुलाई मारमा पारेका थिए। यस्तो अवस्थामा राष्ट्रिय ध्वजाबाहकले बजारमा हस्तक्षेप गर्न सक्ने कुनै आधार बाँकी रहेन। एउटा ट्विनटर कता उडाउने र बजारमा निजी क्षेत्रका विमान कम्पनीको मनपरीलाई हस्तक्षेप गर्ने? सरकारले पनि निजी विमान कम्पनीहरूलाई भाडा नबढाइदिन अनुरोधमात्र गरेर बस्यो।

चिनियाँ जहाजका कारण ठूलो घाटा व्यहोरेको निगम अहिले एटीआर जहाज किनेर आन्तरिक वायु सेवा प्रदान गर्न सक्ने अवस्थामा छैन। जीटूजीअन्तर्गत सार्वजनिक खरिदका कुनै मान्यता पालन नगरी नेपालले चीनको एभिक इन्टरनेसनलबाट १० वर्षअघि एमए ६० दुईवटा र वाइ १२ तीनव६ा जहाज ल्याएको हो। ती जहाजले निगमलाई व्यवसाय विस्तारभन्दा पनि उल्टै घाटामा धकेल्यो।

तीन अर्ब १४ करोडमा किनेका यी जहाज सञ्चालन गर्दा उल्टै घाटा हुने भएपछि निमगले सन् २०२३ को अन्त्यतिर लिलामीका लागि सार्वजनिक सूचना पनि प्रकाशित गरेको थियो। तर लिलाम गर्न खोज्दा पनि कसैले नकिन्ने भएपछि निगमले ग्राउन्डेड यी जहाजको पार्किङ शुल्क तिरेर राखिरहेको छ। नेपालको भूगोलमा वाई १२ उडान सम्भव छैन भन्ने सुझाव पाएर पनि अधिकारीहरूले उक्त जहाज खरिद गरेका थिए। एमए ६० मा पनि लोड रेस्ट्रिक्सनका कारण उडाउँदा उल्टै घाटा खानुपर्ने अवस्था आइपरेको नेपाल वायु सेवा निगमका अधिकारीहरू बताउँछन्।

लिलाम समेत नभएपछि यी चिनियाँ जहाजलाई के गर्ने भन्ने सम्बन्धमा निगमले निर्णय लिन सकेको छैन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले भने जहाज लिलाम नगर्न निर्देशन दिएको थियो।

प्रकाशित: २८ असोज २०८१ ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =