बाढीपहिरो : सिन्धुपाल्चोकमा ११ जनाको मृत्यु

हिमाल प्रेस १३ असोज २०८१ ११:३३
6
SHARES
बाढीपहिरो : सिन्धुपाल्चोकमा ११ जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- शुक्रबार र शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी सिन्धुपाल्चोकमा कम्तीमा ११ जनानाको ज्यान गएको छ। बाढीपहिरोमा परी दुइजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

लिसंखुपाखर गाउँपालिका-३ मा स्थानीय तृष्णा मोक्तानको घर पहिरोले बगाउँदा मोक्तानसहित उनका एक छोरा र एक छोरीको ज्यान गएको छ।

लिसंखुपाखर गाउँपालिका-३ बाफलस्थित काजीबहादुर तामाङको घर पहिरोले पुर्दा उनीसहित दुईजनाले ज्यान गुमाएका छन्। ७३ वर्षीय काजीबहादुर र उनकी पत्नी सुन्तली तामाङ पुरिएको अवस्थामा मृत भेटिएका हुन्। काजीबहादुर पूर्व वडाध्यक्ष हुन्।

सुनकोशी गाउँपालिका–४ च्यानेस्थित सिन्धुबिच रिसोर्ट पहिरोले पुर्दा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी निरञ्जन भट्टराईले जनाए। उनका अनुसार मृतक दुवै पुरुष हुन्। पुरिएको अवस्थामा मृत भेटिएका उनीहरुको पहिचान खुल्न सकेको छैन। त्यहाँ पुरिएर दुईजना बेपत्ता भएको रिसोर्टबाट अरु १५ पाहुनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा पुर्याएको छ।

जुगल गाउँपालिका-१ मा पहरोले स्थानीय चित्रबहादुर मिजारको घर पुर्दा उनीसहित चारजनाको मृत्यु भएको छ। चित्रबहादुर दम्पती, ज्वाइँ अविनाश नेपाली  र पाँच वर्षीय भाञ्जाको निधन भएको हो।

जिल्लाका विभिन्न ठाउँबाट आइतबार बिहानसम्म २७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।  भोटेकोशीमा आएको बाढीले सीमा नाका तातोपानी जोड्ने लार्चा बेलिब्रिज बगाएको छ। यो पुल बगेपछि तातोपानीसँगको सडक सम्पर्क टुटेको छ।

केही वर्षअघि चट्टाने पहिरो खस्दा लार्चाको पक्की मोटरेबल क्षतिग्रस्त बनेको थियो। सोही स्थानमा बेलिब्रिज राखिएको थियो। लिपिङ खोला पुल पनि बाढीले क्षतिग्रस्त बनाएको छ।

प्रकाशित: १३ असोज २०८१ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =