लुम्बिनीका अवरुद्ध सडक खुल्न थाले

हिमाल प्रेस १३ असोज २०८१ ७:४४
4
SHARES
लुम्बिनीका अवरुद्ध सडक खुल्न थाले

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरेको जनाएको छ।

प्रदेशका १२ जिल्लाभित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंमसेवकको रुपमा परिचालन भएको र जसबाट क्षति न्यूनीकरण गर्न भूमिका खेलेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए।

प्रभावकारी खोज तथा उद्धार कार्यमा सुरक्षा निकाय र स्थानीय समुदायकाबीच सुदृढ सहकार्यले क्षति न्यूनिकरण गर्न मद्दत पुगेको हो। ‘यो विपद्को घडीमा एकले अर्काको मुख ताकेर बस्ने बेला होइन। जसले जहाँ जसरी सहयोग गर्न सक्छ, त्यसैगरी परिचालन हुन जरुरी छ’ उनले भने।

उनले समुदायका नागरिक पहिलो रेस्पोन्डर भएकाले सुरक्षित स्थानको पहिचान गरेर सबै नागरिकलाई त्यहाँ सम्म पुर्‍याउन सुरक्षा निकायलाई सहयोग गर्न समेत अपिल गरेका छन्।

‘यो भूमिका समुदायका नागरिकले निभाउनु भएको छ’ मुख्यमन्त्रीले भने। यस्तै आपतकालिन उद्धारटोली मार्फत अवरुद्ध सडक सुचालु गरिएको, बाढी तथा पहिरोमा परेकाहरुको खोज तथा उद्धारको काम भएको छ।

तीनवटै सुरक्षा निकायका प्रमुखसँग निरन्तर संवाद भएको र अवरुद्ध सडक सुचालु गर्न आपतकालीन उद्धारटोली खटिएको मुख्यमन्त्री आचार्यले बताए। जिल्ला सदरमुकाम जोड्ने सडक चालु भएका छन्। भालुबाङ-प्युठान सडक खण्ड, गोरुसिङ्गे-अर्घाखाँची, दाङ-सल्यान राप्ती लोकमार्ग सञ्चालन भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

रोल्पा जोड्ने सहिद मार्ग, पाल्पाको रानी महल जोड्ने, दाङ-प्युठान जोड्ने भित्री सडक, गुल्मिको छत्रकोटकोट भित्री सडकमा झरेको पहिरो पन्छ्याउने काम चलिरहेको छ। तराईका जिल्लामा सडक सञ्चालन हुन थालेका छन्।

विपद् भएको ठाउँमा तुरुन्त उद्धारटोली परिचालन भएको र स्थानीय नागरिकले स्वयंमसेवकको समेत भूमिका निर्वाह गरेका छन्। बाढी र पहिरोको जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको समेत मुख्यमन्त्री आचार्यले बताए।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुखहरू सँग निरन्तर सम्पर्कमा छु। जहाँ विपद् आइपर्छ त्यहाँ तत्कालै सुरक्षाकर्मी परिचालन गरिन्छ’उनले भने, ‘समुदाय स्तरबाट पनि खोज तथा उद्धारको काम गर्न सकिन्छ। सुरक्षाकर्मीको समन्वयमा स्थानीय बासिन्दा पनि स्वयंसवेकको रुपमा परिचालन हुनुपर्छ, हाम्रो प्रदेशमा यो सहकार्य भएको पनि छ।’

प्रकाशित: १३ असोज २०८१ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =