उदयपुरमा आमाछोराको हत्या प्रकरण : आरोपित १५ दिनपछि पक्राउ

हिमाल प्रेस ४ असोज २०८१ १८:११
14
SHARES
उदयपुरमा आमाछोराको हत्या प्रकरण : आरोपित १५ दिनपछि पक्राउ

काठमाडौँ- उदयपुरको कटारी नगरपालिका–१०, सोरुङछबीसेका आमाछोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ। करिब १५ दिनको लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरीहरनाथ योगीले घटनाको सूक्ष्म अध्ययनपछि प्रहरीले आमाछोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको बताए।
गत भदौ २० गते बिहान पसल भएको घरमा मृत अवस्थामा फेला परेका आमाछोराको हत्या स्थानीय ३२ वर्षका ताराबहादुर मगरबाटै भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
आरोपिन मगरले धारिलो हतियार प्रयोग गरी घाँटी तथा शरीरको अन्य भागमा समेत प्रहार गरी विभत्स तरिकाले कर्तव्य गरी हत्या गरेको व्यहोरा खुलेको प्रहरीले जनाएको छ।
मगरको नाममा किटानी जाहेरीसमेत परेको छ। उनलाई उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी योगीले जानकारी दिए।

कटारी नगरपालिका–१०, सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुसको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। श्रीमान् अशोक थापा तीन वर्षअघि गाउँकै राई थरकी एक महिलासँग दोस्रो विवाह गरेर भारतको राजस्थान बस्दै आएका छन्। निर्मला गाउँमै सामान्य होटल र किराना पसल चलाउँदै छोरासँग बस्दै आएकी थिइन्।

प्रकाशित: ४ असोज २०८१ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eight =