काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहले नेपालमा राजनीतिक पुस्तान्तरण र लोकतन्त्रलाई थप उन्नत बनाउने वातावरण सिर्जना गरेको भन्दै अब सरकारको सम्पूर्ण ध्यान आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने बताएका छन्।
जेनजी विद्रोहको पहिलो वार्षिकोत्सवका सन्दर्भमा भट्टराईले लोकतन्त्रको आधारभूत संरचना निर्माण भइसकेकाले अब सुशासन, रोजगारी सिर्जना, उत्पादनमुखी अर्थतन्त्र र तीव्र आर्थिक विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले जेनजी विद्रोहलाई युवाहरूको असन्तुष्टि र पुरानो राजनीतिक नेतृत्वको कमजोरीविरुद्ध उठेको लोकतान्त्रिक विद्रोहका रूपमा व्याख्या गरे।
उनका अनुसार आन्दोलनको मूल उद्देश्य लोकतन्त्रलाई कमजोर बनाउनु नभई भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, शिक्षा स्वास्थ्यको सुनिश्चितता र स्वदेशमै रोजगारी सिर्जना गर्नु हो।
भट्टराईले नेपालको अर्थतन्त्र अझै पनि सुस्त गतिमा अघि बढिरहेको उल्लेख गर्दै कछुवागत विकास होइन, टेकअफ अर्थात् उडान भर्ने शैलीको आर्थिक रूपान्तरण आवश्यक रहेको बताए।
उनले कम्तीमा १० देखि १५ वर्षसम्म दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित संरचनागत सुधार अघि बढाउनुपर्ने धारणा राखे।
उनले नेपालले भारत र चीनबीचको रणनीतिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्ने भन्दै दुवै छिमेकीबाट पूँजी र प्रविधि भित्र्याएर नेपाललाई उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ लैजानुपर्ने बताए।
अहिलेको श्रम निर्यातमुखी मोडल दीर्घकालीन समाधान हुन नसक्ने उनको भनाइ छ।
वर्तमान सरकारलाई सुझाव दिँदै उनले संविधानमा अनावश्यक छेडछाड नगरी पाँचदेखि २० वर्षसम्मका स्पष्ट आर्थिक योजना बनाएर काम गर्नुपर्ने बताए।
जेनजी आन्दोलनसँग सम्बन्धित भदौ २३-२४ का घटनाको प्रतिवेदन सार्वजनिक गरी आवश्यक छानबिन पूरा गर्नुपर्ने र आन्दोलनकारीसँग भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए।
भट्टराईले अवसरको सही उपयोग गर्न नसके जनताको अपेक्षा पूरा नहुने र भविष्यमा फेरि असन्तुष्टि तथा नयाँ विद्रोहको जोखिम बढ्न सक्ने चेतावनीसमेत दिएका छन्।


